काठमाडौं : पुँजी बजारमा थोरै बिक्री चाप परेको छ । बिक्रेता हावी हुँदा नेप्से सूचकमा पनि सामान्य दबाब परेको हो । साउन लागेसँगै सूचीकृत कम्पनीहरुले धमाधम वर्षभरिको कमाईको विवरण सार्वजनिक गरिरहेका छन् । औसतमा कमाई पनि राम्रै देखिएको छ । कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक
सँगै लाभांश पनि घोषणा गर्न थालिसकेका छन् । पछिल्लो पटक एनआइसी एसियाले २०% प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकले बोनसमा लाग्ने कर तिर्न १.०५% प्रतिशत नगद लाभांश पनि दिंदैछ । यसआधारमा भारीमात्रामा चुक्ता पुँजी वृद्धि गरेका बैंकहरुले समेत राम्रै मुनाफा दिन लाग्दा लगानीकर्ता खुशी भइरहेका छन् । अन्य सूचीकृत कम्पनीहरुले पनि धमाधम वित्तीय विवरण सार्वजनिक गरेर लाभांश प्रस्ताव गर्न थालेका छन् । यसले लगानीकर्तामा नयाँ खुशीको तरंग ल्याइरहेको अवस्था हो । यसरी सकारात्मक माहोल खडा भइरहँदा बजारमा भने केही सुस्त भएको छ । बिक्री चाप बढेको बाहेक यतिबेला बजार घट्नुपर्ने खासै ठूलो कारण देखिंदैन । बैंकहरुमा लगानी योग्य रकम पनि अधिक छ । तर अधिक मात्रामा थपिएको हकप्रद र बोनस सेयरले भने बजारमा बिक्री चाप बढाइदिएको फ्रन्ट लाइनमा बसेर काम गरिरहेका ब्रोकरहरुको भनाई छ ।
विशेष गरी बैंक तथा वित्तीय संस्थाको अधिकमात्रामा हकप्रद र बोनस सेयर थपिएका छन् । यसैगरी, बिमा कम्पनीहरुले पनि पुँजी बढाउन हकप्रद र बोनसकै सहारा लिइरहेका छन् । बजारमा सेयर संख्या अधिकमात्रामा थपिने तर त्यसलाई खपत गर्ने नयाँ संयन्त्र खोजी नहुँदा केही समस्या थपिएजस्तो देखिन्छ । यसबाहेक पछिल्लो समय बजारमा अल्पकालीन कारोबारी हावी भएका छन् । यस्ता कारोबारीले छोटो समयमा सेयर बिक्री गरेर नाफा बुक गरिहाल्छन् । यसले पनि बजार सुस्त हुनलाई केही सहयोग पुर्याएको अनुमान गरिएको छ । आइतबार बजार नाप्ने नेप्से सूचक ११.४० अंकले तल झरेर १६४२.१३ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.६९% प्रतिशतले ओरालो लागेको हो । कुल १६० कम्पनीको ८० करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । १९ लाख ६० हजार ६११ कित्ता सेयर किनबेच भएका छन् । नेप्सेमा सूचीकृत ८ वटा समूहमध्ये २ वटामा हरियाली देखिएको छ भने बाँकी समूहमा भने रातो रंग लागेको छ । उत्पादनमूलक समूह १६.२९ अंकले बढेको छ । उता, सबैभन्दा धेरै बिमा सूचक १०४.३७ विन्दुले तल झरेको छ । त्यस्तै, होटेल समूहमा ५४.५८ विन्दुको ह्रास आएको छ । पुँजी बजारमा वर्चस्व राख्ने बैंकिङ समूह ९.१६ अंकले घटेको छ । कारोबार रकममा नेसनल हाइड्रोपावर कम्पनीले अग्रता लिएको छ । यो हाइड्रोपावरको ६ करोड ३८ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । यसैगरी, कारोबार रकमका आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र स्टान्डर्ड चार्टर्ड बैंक परेका छन् ।
कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी
0 comments:
Post a Comment