न्यूयोर्क : के तपाई राम्रो जग नबसाई घर बनाउने कोशिस गर्नुहुन्छ ? अवश्य गर्नुहुन्न, यस्तो मूखर्ता तपाईले जीवनभर गर्नु हुन्न अनि देख्न पनि चाहनु हुन्न होला । हो, जसरी गतिलो जग नबसाई घर बनाउन सकिँदैन त्यसरी नै वित्तीय जग मजबुत नभई लगानी पनि गर्न सकिँदैन । जब तपाई आफ्नो निकै दुःख गरेर पसिना बगाएर कमाएको पैसालाई अझ वृद्धि गर्ने सोचले लगानी गर्न चाहनुहुन्छ भने त्यतिबेला तपाईले आफ्नो वित्तीय धरातल–जग मजबुत बनाउने बारे अवश्य सोच्नुपर्ने हुन्छ । के तपाईले अहिलेसम्म आफ्नो वित्तीय जग बनाउनु भएको छ ? अनि बनाएको भए त्यो जग कति मजबुत छ ? जगले वित्तीय हुरिबतास, मौसम वा भूकम्प (वित्तीय संकट) पनि झेल्न सक्ने छ कि छैन ? लगानी गर्नुअघि यी यावत् विषयमा ध्यान दिनुपर्ने हुन्छ । सुरक्षित बस्नका लागि मजबुत घर बनाए जस्तै जीवनमा आउनसक्ने वित्तीय संकटबाट सुरक्षित हुन हामी कतिले आफ्नो वित्तीय जग मजबुत बनाएका छौं ? वित्तीय जग मजबुत बनाउन हामी कति सक्षम छौं वा जान्दछौं भन्नेबारेमा सचेतना हुन आवश्यक छ । वित्तीय जग मजबुत नबनाई लगानी गर्दा अवश्य पनि समस्या भोग्नुपर्ने हुन्छ । भविष्यमा वित्तीय संकट नआओस भन्नका लागि वित्तीय जग तयार गर्न हामी सामान्य प्रकृया अपनाउन सक्छौं । यस प्रकृयाका प्रमुख ४ चरणहरु छन्, जसलाई यहाँ विस्तारमा वर्णन गरिएको छ ।
१. बिमा गरी सुरक्षित हुने : सबैभन्दा पहिला आफ्नो भौतिक शरीरलाई भविष्यमा आउन सक्ने स्वास्थ्य समस्याबाट सुरक्षित गर्नुपर्छ । कतिपय बेला नचिताएको घटना वा दुर्घटना पनि घट्न सक्छ, जसले तापाईलाई शारीरिक रुपमा अशक्त बनाउनुका साथै मृत्युको मुखमा समेत पुर्याउन सक्छ । यस्तो अवस्थामा तपाईले ऋण लिनु भएको छ भने त्यो ऋण तपाईको परिवारले तिर्नुपर्ने हुन्छ । यदि, परिवारको आयश्रोत तपाईमा नै निर्भर छ वा आयआर्जन गर्ने परिवारको तपाई एकमात्र व्यक्ति हो भने त झन् बिमा गर्नु अति नै आवश्यक हुन्छ । यसका लागि बजारबाट आफूलाई पायक पर्ने कम्पनी वा संस्थाको इन्सुरेन्स पोलिसी किन्न सकिन्छ । यति भइसकेपछि पहिलो त तपाइलाई मनको शान्ति मिल्छ भने दोस्रो आफूलाई केही भइहाल्यो भने पनि इन्सुरेन्स कम्पनीले दिने रकमले आफ्नो अनुपस्थितिमा परिवारका सदस्यले वित्तीय भार वहन गर्नसक्ने क्षमता राख्नेछन् । तेस्रो, यसले आफ्ना सन्तानको शिक्षाका साथै परिवारका आधारभूत आवश्यकता पनि पूरा गर्ने मौका प्रदान गर्छ ।
२. ऋण–कर्जा भुक्तानी : हामीमा आफन्त तथा साथीभाईहरुबाट छोटो समयका लागि कर्जा सापटी लिइहाल्ने प्रचलन बढ्दो छ । यस्तो कर्जा तथा सापटी औपचारिकरुपमा बैंक तथा वित्तीय संस्थाहरुबाट पनि लिने गरिएको हुन्छ । तर कतिपय समय कर्जासँगको सहज पहुँचले अप्ठेरो वित्तीय अवस्थामा धकेल्न सक्छ । यस्तो तब हुन्छ जब हामी कर्जा वा ऋणलाई सही व्यवस्थापन गर्नबाट चुक्छौ । यसका लागि दिन सकिने एकमात्र सुझाव भनेको सम्भव भएसम्म ऋण नलिनु नै हो । ऋण लिनुको सट्टा बरु एक भन्दा बढी काम गर्नु वा आम्दानीका विविध स्रोत विकास गर्नु उचित हुन जान्छ । यदि, चर्को ब्याजदरमा कर्जा लिनु भएको छ भने जतिसक्दो छिटो कर्जा भुक्तानी गर्नु उपयुक्त हुन्छ । अर्को, यदि तपाईले लगानी गर्नका लागि उच्च ब्याजदरमा कर्जा लिनु भएको छ भने त्यसको जोखिम झन् धेरै हुने सम्भावना रहन्छ । यस्तो अवस्थामा लगानीको प्रतिफल ब्याजदर भन्दा धेरै आउने हो वा होइन भन्ने पनि थाहा हुन जरुरी हुन्छ । यता, ब्याजदर पनि तिनुपर्ने हुन्छ । जसले जोखिम झन धेरै बढाएर लैजान्छ । यसकारण आफ्नो समग्र ऋण व्यवस्थापन गर्दै छोटो अवधिको कर्जा तिर्दै जानुपर्ने हुन्छ ।
३. आपतकालीन कोष व्यवस्था : आफ्नो घर होस् वा कार्यक्षेत्र कहीँ पनि ढुक्क हुने अवस्था छैन । अझ लगानी गर्दाको त कुरै छोडौं । यी अनिश्चितताहरु तपाईका लागि जोखिम हुन सक्छन् । व्यापार, जागिर, स्वास्थ्य, सम्पतिलगायत सबै विषयमा सफल होइन्छ भनेर अन्दाज लगाउने वा ठोकुवा गर्न सकिने अवस्था हुँदैन । त्यसैले हामी जस्तोसुकै जोखिम तथा आपतकालीन अवस्थाका लागि पनि तयार भएर बस्नुपर्छ । दैनिक जीवनका विविध विषयहरु अनिवार्य हुन्छन् । जस्तै, पढाइ शुल्क, घर भाडा, खाना तथा पेय पदार्थको खर्च, विजुलीको महसुल, स्वास्थ्य खर्चसहित अन्य । यी सबैको खर्च कटाएर केही सीमित रकम आपतकालीन कोषका लागि पनि छुट्याउनुपर्छ । यस्तो रकम जहिले पनि तरल अवस्थामा राख्नुपर्दछ । आपतकालीन कोषमा न्यूनतम ३ देखि ६ महिनासम्मको अम्दानी राख्नु उचित हुन्छ । जस्तै, यदि तपाई मासिक १५ हजार कमाउनुहुन्छ भने वार्षिक ४५ देखि ९० हजार रुपैयाँसम्म आपतकालीन कोषमा राख्न सकिन्छ ।
४. लगानी : माथिका ३ वटै काम गरिसकेपछि रकम बाँकी रहन्छ भनेमात्र तपाईका लागि लगानी उचित हुन सक्छ । लगानी गर्नु कुनै चानचुने विषय होइन । लगानी गर्नु निकै जटिल प्रकृया हो, जुन सामान्यतयः दीर्घकालीन हुने गर्दछ । तर खोजी गर्ने हो भने बजारमा अल्पकालीन लगानीका अवसरहरु पनि प्रशस्तै पाइन्छन् । यसका लागि संयमित र व्यवस्थित हुन पनि जरुरी छ । किनभने लगानी गर्दा तपाईले तत्कालको क्रय क्षमता गुमाए पनि भविष्यका लागि जग भने तयार गरिहेको हुनुहुनेछ । यसैगरी, लगानीका जोखिमहरु पनि उत्तिकै धेरै रहने गरेका छन् । यस्तो जोखिमलाई कम गर्न वित्तीय क्षेत्रसँग सम्बन्धित ज्ञान र विज्ञता हुन अति आवश्यक छ । बजारको स्वअध्ययन गर्नुका साथै तालिम लिएर पनि जोखिम कम गर्न सकिन्छ । ज्ञान आर्जन गर्न सकिन्छ । विशेषतः सेयर बजारमा लगानीका बारेमा धेरै सिकाउने भनेको आफ्नो अनुभवले नै हो । यता, प्राकृतिक रुपमै सेयर बजारको उतारचढाव र गतिलाई प्राविधिक रुपमा हेर्ने गरिन्छ ।
सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले लगानीकर्ताको लगानी निर्णयलाई प्रभाव पारेको हुन्छ । कुन कम्पनीको सेयर किन्ने, कुन सेयर होल्ड गर्ने वा बेच्ने भन्ने लगानीकर्ताको मनोविज्ञानले निर्धारण गरेको हुन्छ । यो आफ्नो व्यक्तिगत वा भीडको मनोविज्ञानले पनि उत्तिकै प्रभाव पारेको हुनसक्छ, जसले तपाईको निर्णयमा असर गरिरहेको हुन्छ । त्यसैले, सफल लगानीकर्ता बन्न यस्ता विभिन्न चुनौतीहरुलाई पार लगाउँदै जानुपर्ने हुन्छ ।
अन्त्यमा : लगानी गर्नुअघि वित्तीय आधार मजबुत बनाउनु अपरिहार्य छ । यो हरेक व्यक्तिलाई आवश्यक पनि हो । यसले वित्तीय सुरक्षा दिनुका साथै भविष्यमा देखा पर्नसक्ने जोखिमलाई पनि न्यूनीकरण गर्न मद्दत गर्छ । वित्तीय जग–आधार मजबुत गर्न आवश्यक यी ४ चरणलाई मनन गर्नुका साथै व्यवहारमा पनि उतार्न अति आवश्यक छ । कहिलेकाहीँ सामान्य रणनीति अपनाउँदा पनि मनले शान्ति पाउँछ र भविष्य सुरक्षित गर्न पनि सहयोग पुर्याउँछ । यो लेखबाट आमपाठकलाई अहिलेदेखि नै आफ्नो वित्तीय जगको नक्सा कोर्न प्रोत्साहन गर्न खोजिएको हो । नक्सा कोरिसकेपछि नियमितरुपमा एउटा इँट्टा थप्दै अघि बढेमा अवश्य पनि वित्तीय स्वतन्त्रताको फल चाख्न पाइनेछ ।
(लेखक त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायमा फाइनान्स विषयको एम.फिल. का स्वर्णपदक विजेता हुन् । हाल उनी अमेरिकाको एक परामर्शदाता कम्पनीमा सहायक प्रबन्धकको रुपमा काम गर्दैछन् ।)