पुँजी बजारले फेरि समात्न थाल्यो लय, अब लाभांशको पालो

काठमाडौं : पुँजी बजारले फेरि विस्तारै सुधारको लय समात्न थालेको छ । केही दिनयता बजार सुस्त हुँदा लगानीकर्ता अन्योलमा परेका थिए । वर्षभरि लगाएर पकाएको बाली भित्र्याउने बेला बजार तल झर्न थालेपछि के भएको यस्तो ? भन्दै लगानीकर्ताहरुमा कौतुहलता बढेको थियो । सूचीकृत कम्पनीहरुले वर्षभरि गरेको प्रगति विवरण पस्किरहेका छन् । कतिपयले त वित्तीय विवरणपछि लाभांशसमेत घोषणा गर्न थालिसकेको अवस्था छ । यस्तो बेला बजार झनझन् सुस्त हुँदा लगानीकर्ता आश्चर्यमा पर्नु पनि स्वभाविक नै हो । पाकेको बाली थन्क्याउने बेला आकाशमा गड्याङगुडुङ मेघ गर्जे जस्तो भइरहेको थियो । तर बुधबार बजार थोरै भए पनि माथि लाग्दा लगानीकर्तालाई राहत मिलेको छ । यसबाट आगामी दिनमा बजार अझै माथि जान सक्ने शुभ संकेत मिलेको छ । यतिबेला बजार सुस्त हुनुपर्ने खास कारण देखिंदैन । अब असोज लागेपछि कम्पनीहरुले धमाधम साधारण सभा बोलाउन थाल्छन् । त्यसपछिको केही समयमा लगानीकर्ताको खातामा बोनस र नगद लाभांश जम्मा हुन थाल्छ ।

यसर्थ, धैर्य गर्न सक्ने लगानीकर्ताका लागि बजारबाट लाभ नै हुने देखिन्छ । धेरैले वित्तीय विवरण सार्वजनिक गरिसकेकाले अब लाभांश घोषणा गर्ने पालो सुरु भएको छ । पुँजी बजारमा धेरै पक्ष सकारात्मक भइरहँदा पनि अधिकमात्रामा बढेको आपूर्तिले भने केही अप्ठेरो बनाएको छ । बैंक तथा बिमा कम्पनीहरुको भारीमात्रामा चुक्ता पुँजी वृद्धि भएको छ । यसले बजारमा सेयर संख्या ह्वात्तै बढाइदिएको छ । यसरी बढेको आपूर्ति थेग्ने दिगो संयन्त्र भने तय भएको छैन । बजार निर्माता छैन । गैरआवासीय नेपालीलाई सेयर बजारमा कारोबार गराउन सकिएको छैन । यसबाहेक बैंकहरुले कर्जामा लिने ब्याजदर तुलनात्मकरुपमा निकै धेरै छ । १५ प्रतिशत हाराहारीको ब्याजदर तिरेर ऋण लिनुपर्ने अवस्था छ । सेयर मार्जिन कर्जा पनि ५०% मात्र छ । यसले लगानीकर्ताको क्रय क्षमतालाई केही साघुँरो बनाइदिएको छ ।



नेप्से सूचक बुधबार ३.५० अंंकले बढेर १६३२.६६ विन्दुमा आइपुगेको छ । समग्रमा नेप्से ०.२१ प्रतिशतले बढेको हो । कुल १५८ कम्पनीको ७१ करोड ४३ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । बाढीले तराई अशान्त हुँदा पनि कारोबार रकममा असर परेको अनुमान छ । कुल १६ लाख ५४ हजार ९८३ कित्ता सेयर कारोबार भएको छ । नेप्सेमा सूचीकृत ८ वटा समूहमध्ये ५ मा हरियाली छाएको छ भने बाँकी ३ वटा समूह राता भएका छन् । सबैभन्दा धेरै बिमा सूचक ७५.७८ अंकले बढेको छ । बैंकिङ समूह २.९६ अंकले माथि लागेको छ । उता, उत्पादनमूलक समूहमा भने ५३.१५ अंकको ह्रास देखिएको छ । कारोबार रकममा प्रुडेन्सियल इन्सुरेन्सको संस्थापक सेयरले बाजी मारेको छ । प्रुडेन्सियलको ३ करोड ४६ लाख रुपैयाँभन्दा धेरैको संस्थापक सेयर किनबेच भएको हो । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः स्टान्डर्ड चार्टर्ड बैंक र नेसनल हाइड्रोपावर कम्पनी परेका छन् ।

  कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी


0 comments:

Post a Comment