सेयर बजारमा पाकेको बाली थन्क्याउने बेला किन हुँदैछ गड्याङगुडुङ ?


काठमाडौं : लगानीकर्ताले पाकेको बाली थन्क्याउने बेला नजिकिंदै गर्दा बजार भने झनझन् तल झर्न थालेको छ । धमाधम सूचीकृत कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक भइरहेका छन् । केही कम्पनीले गत वर्षको कमाईबाट लाभांशसमेत घोषणा गरिसकेका छन् । वित्तीय विवरण सार्वजनिक भएका कम्पनीहरुले यस वर्ष कति प्रतिशतसम्म लाभांश दिन सक्छन् भनेर हिसाबकिताब पनि सुरु हुन थालिसकेको छ । अब असोज लागेपछि कतिपयलले साधारण सभासमेत बोलाउन थाल्छन् । यस्तो बेला बजारको अनुहार भने रातो भएको छ । विगतमा तरलता संकटका कारण बजारलाई केही असर गरेको थियो । तर यतिबेला बैंकमा पर्याप्तमात्रामा लगानीयोग्य पैसा छ । बैंकहरुको तुलनात्मकरुपमा सेयर कर्जा प्रवाह गर्न सक्ने क्षमता पनि बढेको छ । तर यही बेला बजार भने झन् मन्द भइरहेको छ । बजार घट्नुपर्ने अन्य आधारभूत कारण देखिएका छैनन् । अधिकमात्रामा थपिएको हकप्रद र बोनस सेयरले बजारमा भारी मात्रामा सेयर आपूर्ति भने बढाइदिएको छ । यसले बिक्री चाप बढेको अनुमान छ । यसबाहेक केही दिनदेखि बाढीका कारण तराई क्षेत्र अशान्त छ । बाढीले करोडौं रुपैयाँको भौतिक क्षति गराएको छ । थुप्रैले ज्यान पनि गुमाएका छन् ।



तराईमा बैंक तथा वित्तीय संस्था पनि सजिलोसँग सञ्चालन हुन पाएका छैनन् । तराईका कतिपय ब्रोकरका शाखा कार्यालयले कामसमेत गर्न पाएका छैनन् । यसले गर्दा पनि सेयर बजारमा केही असर गरेको अनुमान छ । बजार सुस्त गतिमा तल झरिरहँदा कतिपय लगानीकर्ता भने त्रसित हुन थालेका छन् । यतिबेला लगानीकर्ताका लागि पाकेको बाली थन्क्याउने बेला आकाशमा गड्याङगुडुङ गरेजस्तै भएको छ । नेप्से सूचक मंगलबार १२.९७ अंकले तल झरेर १६२९.१६ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.७९ प्रतिशतले घटेको हो । पछिल्ला केही दिन बजार मन्द गतिले घटिरहेको छ । यद्दपि, बजारमा ठूलो गिरावट भने आएको छैन । घटबढ बजारको सामान्य नियम पनि हो । विगतमा छोटो समयमा नेप्से माथि उक्लिएको थियो । यतिबेला सेयर बजारमा अल्पकालीन कारोबारी बढी हावी भएका छन् । यस्ता कारोबारीले थोरै नाफा हुने बित्तिकै सेयर बेचिहाल्ने भएकाले पनि त्यसको प्रभाव बजारमा देखिएको अनुमान छ ।मंगलबार कुल १६० कम्पनीको ७८ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कुल १६ लाख १५ हजार ७३८ कित्ता सेयर किनबेच भएको हो । नेप्सेमा सूचीकृत ८ वटा समूहमध्ये एउटामात्र हरियो भएको छ । बाँकी सबै समूहका सूचक राताम्य भएका छन् । होटेल समूहको सूचक भने ३.२ अंकले हरियो देखिएको हो । सबैभन्दा धेरै बिमा समूहको सूचक ८८.७६ अंकले घटेको छ । त्यसैगरी, उत्पादनमूलक समूहमा २८.३४ अंकको ह्रास आएको छ । हाइड्रोपावर समूहमा २४.४९ अंकको मन्दी देखिएको छ । पुँजी बजारमा वर्चस्व राख्ने बैंकिङ समूह १०.८६ अंकले घटेको छ । कारोबार रकममा नेसनल हाइड्रोपावर कम्पनीले अग्रता लिएको छ । नेसनल हाइड्रोको ४ करोड ६१ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको हो । यसैगरी, कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रुडेन्सियल इन्सुरेन्स संस्थापक र स्टान्डर्ड चार्टर्ड बैंक परेका छन् ।

 कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी


0 comments:

Post a Comment