श्रावण ३०, २०७४- बिगत ६ दिनदेखि बाढीका कारण अस्तब्यस्त सप्तरीमा सोमबार दुईजना मन्त्री हवाई निरीक्षण गर्दे फर्केका छन् । आफ्नै गृह जिल्लाका बाढी पीडितको अवस्था बुझ्न सदरमुकाम नजिकैको बस्तीमा पनि नगएका पर्यटनमन्त्री जितेन्द्रनारायण देब र वातावरणमन्त्री मिथिला चौधरी हेलिकप्टरैबाट निरीक्षण गरी फर्केका छन् ।
बाढीले २० हजार परिवारका १ लाख सप्तरीबासी अति प्रभावित रहेको सप्तरीका मन्त्रीद्वय देब र चौधरीले प्रतिनिधित्व गर्ने सप्तरीको ३ नम्बर निर्वाचन क्षेत्रका गाउँहरु अति प्रभावित सूचीमा छ ।
दुबैजना समानुपातिक सभासद् हुन् ।
३ दिनअघि नै युवा सम्मेलनको उदघाटन गर्न सप्तरी आउने तयारीमा रहेका मन्त्रीद्वय देब र चौधरी बाढीका कारण सम्मेलन स्थगित भएकोपछि जिल्ला आएनन् । वातावरण मन्त्री चौधरीका लागि त मन्त्रालयकै गाडी तीनदिन अघि नै सप्तरी आएको थियो । दुवै मन्त्री सोमवार दिउँसो हेलिकप्टरबाट सप्तरी आए । राजविराजस्थित नेपाली सेनाको गणमा हेलिकप्टरवाट ओर्लेर मन्त्रीद्वयले प्रजिअ निवासमा पुगेर सरकारी अधिकारीलाई निर्देशन दिए । अनि फेरी सोही हेलिकप्टरमा चढी राजधानी तर्फ लागे ।
मन्त्रीद्वयसँगै हेलिकप्टरमै राजधानीबाट आएका सप्तरी २ का प्रत्यक्ष सभासद अशोककुमार मण्डल भने जिल्लामै बसे । मन्त्री हेलिकप्टरमा आएर सदरमुकाममा प्रजिअलाई निर्देशन दिएपनि डुबानमै परेका सदरमुकामका पीडितहरुको अबस्था भने बुझ्न गएनन् ।
मन्त्री देब र चौधरीको घर रहेका बस्तीहरु समेत डुबानमा छ । तर, उनीहरु बाढी पीडित आफ्नै टोलवासीको अबस्था पनि बुझन गएनन् ।
‘हेलिकप्टरवाट घुमेर मन्त्री बनेको देखाउन पो आएका रहेछन्’, सप्तरी तोपाका बाढी पीडित शिवनारायण मण्डलले भने, ‘आफनै गाउँघरका बाढी पीडितको अबस्था बुझेर २ शब्द आश्वासन पनि दिएनन् ।’
‘भोटका बेला यही जनताको घरमा टाँसिने मन्त्रीहरु अहिले डुबानको पीडामा रहँदा हाम्रो अबस्था बुझन किन तल झरेनन्’, सकरपुरामा रामसेवक मुखियाले भने ,‘के हेलिकप्टरवाट घुमेर बाढी पीडितको अबस्था बुझन सकिन्छ र ?’
पर्यटनमन्त्री देबका स्वकीय सचिव भोगेन्द्र चौधरीले चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा उनको स्वागतका लागि सरकारले मन्त्री देबलाई नै जिम्मेवारी दिएकाले मन्त्री देब राजधानी फर्कनुपरेको बताए ।
0 comments:
Post a Comment