सिद्धार्थ इन्सुरेन्सको ८ हजार ३५० कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन, कति छ बजार मूल्य ?

काठमाडौं : सिद्धार्थ इन्सुरेन्सको ८ हजार ३५० कित्ता सेयर लिलामी भर्ने म्याद आज (सोमबार) सकिँदैछ । यसआधारमा, सोमबार कार्यालय समयसम्म मात्र लिलामीमा आवेदन दिन पाइने छ । सिद्धार्थले संस्थापक समूहको ३६७ कित्ता र सर्वसाधारण समूहको ७ हजार ९८३ कित्ता सेयर साउन १६ गतेदेखि लिलामीमा ल्याएको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनु पर्नेछ । सिद्धार्थले वैशाख २८ देखि जेठ ३१ गतेसम्म ८ लाख ६२ हजार १२५ कित्ता हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामीमा ल्याएको हो । नेप्सेमा सिद्धार्थ इन्सुरेन्सको अन्तिम कारोबार मूल्य १६ सय ३८ रुपैयाँ छ ।

सिद्धार्थले दुवै समूहको बोलपत्र साउन २५ गते एनएमबि क्यापिटल नागपोखरी काठमाडौंमा खोल्ने जनाएको छ । संस्थापक समूहकोे बोलपत्र दिउसो ३ बजे र सर्वसाधारण समूहको सोही दिन ३.३० बजे खोलिने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४४ करोड ८३ लाख रुपैयाँ छ । हकप्रद र लिलामी बिक्रीपछि भने सिद्धार्थको चुक्ता पुँजी ५३ करोड ४५ लाख १७ हजार ५०० रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थले १४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ १७ पैसा छ ।

0 comments:

Post a Comment