सडकमा मकै पोल्नेहरुले कालीमाटी वा कोटेश्वरबाट प्रति घोगा आठ रुपैयाँदेखि १० रुपैयाँसम्ममा काँचो मकै खरिद गर्छन । दाउरा र यातायातको हिसाब गर्दा बढीमा ११ रुपैयाँ लागत पर्छ । त्यही मकैलाई पोलेर उनीहरुले २५ रुपैयाँदेखि ३० रुपैयाँसम्म बेच्ने गर्छन । मकै पोल्ने एकजनाले दैनिक ७० देखि १०० घोगासम्म मकै सजिलै बेच्ने गरेको देखिन्छ । ७० घोगा मकै बेचेमा प्रति घोगा १५ रुपैयाँ नाफा राख्दा कम्तिमा एक हजार रुपैयाँ आम्दानी हुन्छ भने १०० घोगा मकै बिकेमा एक हजार पाँचसय सम्म शुद्ध आम्दानी हुन्छ । अझ सस्तोमा मकै ल्याउन सकेमा आम्दानी अझै बढी हुने निश्चित छ । यसरी हेर्दा मासिक रुपमा ३० देखि ५० हजार रुपैयाँ सडकमा मकै पोल्नेहरुले कमाउँछन् ।
कार्यालयमा टाईसुट लाएर काम गर्ने उस्तै हाकिमले पनि सही काम गरेर मासिक ५० हजार रुपैयाँ कमाउनु निकै मुस्किल पर्छ । निजी कार्यालयहरुमा त मरिमेटर काम गर्दा पनि सुकिला मुकिला कर्मचारीहरुले पाउने मासिक पारिश्रमिक भनेको १५ देखि २० हजार रुपैयाँ मात्रै हो । सरकारी कार्यालयहरुमा अधिकृतको मासिक पारिश्रमिक २७ हजार रुपैयाँ हाराहारी हो तर त्यसका लागि बर्षौको लगानी र परिश्रम गर्नुपर्छ ।कपन मिलनचोक सडकछेउ मकै पोलेर बेच्ने उर्मिला बुढाथोकी डिग्री पास गरेर कार्यालयको काम गर्नेले भन्दा आफुहरुको कमाई धेरै भएको खुलासा गर्छिन ।
उनी भन्छिन् - सडकमा बसेर काम गर्नै भनेर कसैले पनि हेप्नु पर्दैन, किनभने जो कोहीले पनि आफ्नो सीप र क्षमताले सकेको काम गर्ने हो, हामीले पनि उनीहरुले भन्दा धेरै कमाइ गरिहेका छौँ । फरक यतिमात्र हो उनीहरु कुर्सीमा बसेर काम गर्छन्, हामी सडक पेटीमा छौ ।
बुढाथोकीले दैनिक ७० देखि ९० घोगासम्म मकै पोलेर बेच्छिन् । त्यसबाट उनी २ हजार देखि २५ सयसम्मको व्यापर गर्छिन । सम्पूर्ण लगानी खर्च कटाई दैनिक १ हजार देखि १२ सय रुपैंयासम्म कमाउछिन् । उनले एक घोगा मकै बराबर ३० र कुनै सानो घोगा भएमा २५ रुपैंया सम्ममा पनि बेच्दै आएको बताईन ।
ओखलढुगां घर भई हाल कपन बस्दै आएकी उनी उमेरमा भर्खर ३२ मात्र लागेकी छिन् । उनले ४ जना परिवार यही मकै पोलेर नै पाल्दै आएकी छन् ।
यसरी कमाई गर्नेहरुले मेहनत चाँही औधी गरेका हुन्छन् । बिहानै ३ बजे नै नाम्लो र बोरा बोकेर कालिमाटी पुग्नुपर्छ । ढिला गए मकै नै नपाइने भएकाले बिहानै कालिमाटी पुगिसक्नुपर्ने हुन्छ । परिवारका सदस्य ब्यूझनुभन्दा अगाडि नै बुढाथोकी मकै लिएर डेरा आइपुगिसकेकी हुन्छिन् ।
उनको बिहान घरको कामधन्दा र छोराछोरीलाई स्कुल पुर्याउनमै बित्ने गर्दछ । दिउसो १ बजेदेखि उनी मकै पोल्ने काम सुरु गर्छिन् ।
यसरी मकै पोलेर कमाउनेहरुले पार्टटाइम काम गरे जस्तै हो । बिहान बेलुका अरु कम मज्जाले गर्न भ्याईन्छ ।
बुढाथोकी भन्छिन्, - चोर्न र अरुलाई ठग्न पो हुदैन तर दुःख गरेर खान जे काम गर्दा पनि हुन्छ ।
यसरी कमाई गरे पनि सडकको धुँवा र धुलोका साथै मकै पोल्दाको धुँवाले स्वास प्रश्वास सम्बन्धी रोग र स्वास्थ्य सम्बन्धी समस्या भने चर्किदै गएको छ ।
यस्तै चावहिल चोकछेउ मकै पोलेर बेच्ने ५२ बर्षीय रामबहादुर तामाङको भोगाई भने अलि फरक रहेको छ । उनलाई बाटो हिड्नेदेखि गाडीमा सवार भएकाहरुले हेय दृष्टिले हेर्ने गर्दछन् । ३० रुपैयाँमा मकै बेच्दा पनि ठग्यो भनेर पाँच रुपैयाँका लागि किचकिच गर्छन् ।
तामाङ - सोध्छन म आफ्नो दुःख गरेर खाने सानो कि, कारमा हिड्ने तर पाँच रुपैयाँका लागि झगडा गर्न खोज्ने सानो ?
चिल्ला कारमा गुड्ने तर सडकमा मकै पोल्नेहरुसँग पाँच रुपैयाँका लागि बार्गेनिङ गर्नेलाई के थाहा ! मकै पोल्नेहरुलाई कमाई आफ्नो भन्दा धेरै छ ।
0 comments:
Post a Comment