यी पो हुन् त ‘ड्रिममेकर र ‘आइसब्रेकर

‘विवेकशील नेपाली दल’ले रञ्जु दर्शनाको नाम काठमाडौंको सम्भावित मेयरमा चयन गरे लगत्तै, रञ्जु दर्शनाले साामाजिक सञ्जालमा पाएको गाली र ताली

पढेर निष्कर्ष निकालें, यो विषयमा केही त लेख्नैपर्‍यो । पत्रिकामा लेख्नु अगाडि सामाजिक सञ्जालमै अंग्रेजी र नेपाली, दुबैमा लेखें–‘यो तीतो सत्य हो, उनी, कथित ‘ठूलाबडा’का लागि ‘आइसब्रेकर’ हुन्, युवाहरूका लागि ‘ड्रिममेकर’ हुन् ।’ अहिले काठमाडौंवासीहरू रञ्जुको उम्मेदवारीलाई लिएर स्पष्ट दुई धारमा बाँडिएका छन् ।
उनको उम्मेदवारी चयनका पक्षधरहरू उनको क्षमतामा ढुक्क छन् भने अर्कोतर्फ, विपक्षमा उभिनेहरू उनको ‘कम उमेर’ नै सबैभन्दा बाधक देखेर नकारात्मकताको हदैसम्म टिप्पणी गरिरहेका छन् ।
त्यो ‘कम उमेर’ कानूनको बाधक भने होइन । कानूनी रुपमा गाउँ तथा नगरसभाको सदस्यको पदमा उम्मेदवार हुन चाहिने योग्यता, नेपाली नागरिक, २१ वर्ष उमेर पूरा भएको, नगरपालिका/गाउँपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको र कुनै कानूनले अयोग्य नभएको मात्रै भनेको छ ।
यदि कानूनले उनी ’उमेरमा’ अयोग्य छैनन् भने, टिप्पणीकारहरूको नजरमा कसरी अयोग्य ठहरिइन् ?
यदि अरु राजनैतिक दलहरूले उठाउने हाराहारीकै उमेरको उठाउनु पर्दथ्यो भने, त्यो परम्परा त उहिल्यै अर्थात, विक्रम संवत २०४८ को काठमाडांै क्षेत्र नम्बर एकको, संसदीय चुनावमा कृष्णप्रसाद भट्टराई भर्सेज मदन भण्डारी र फेरि उप निर्वाचनमा भट्टराई भर्सेज विद्यादेवी भण्डारी उठाएर र कनिष्ठहरूले चुनाव जितेरै तोडिइसक्यो ।
रह्यो, ‘उमेरले पाका भएका’हरूको बुद्धि कतै खोट नलगाउने हिसाबले ‘पाको’ हुन्छ भनेर वहस गर्ने हो भने, २०४७ साल पछि देश हाँक्ने जिम्मेवारी पाएकाहरूले देशलाई कुन सगरमाथाको टुप्पामा पुर्‍याएका छन् र ?, त्यहीँबाट वहस सुरु गरौं ।
यो विषयलाई अझ स्पष्ट पार्न देश/विदेशका कम उमेरका वा ‘केही जानेका छैनन्, यस्ताले के गर्छन् ?’ भनेर आरोपित नेताहरूकै उदाहरण लिंदा पनि हुन्छ । पहिलो उदाहरण, कमहलरीबाट सभासदसम्म बन्न सफल शान्ता चौधरीको उदाहरण नै काफी छ । उनलै आफूलाई प्रमाणित गरेर देखाइन् कि, देखाइनन् ? जवाफ त सबैको आँखा अगाडि नै होला ।
केही दिन अगाडि, मलाला युसुफजाइलाई क्यानडामा दिइएको ‘अनरेरी सिटिजनसीप’को अवसरमा उनले गरेको भाषणको सानो भिडियो क्लिप हेरिरहँदा लाग्यो, अवसर पाए भने, साना उमेरका हुन् वा छोरीहरू हुन्, के गर्न सक्तैनन् ? त्यो, चैत ३०, २०७३ सालको दिन, उनलाई दिएको मान, क्यानडाले हालसम्म विश्वका ६ व्यक्तिलाई मात्र दिएको छ, ती ६ मध्ये एकजना दलाई लामासमेत हुन् ।
स्मरणीय छ, मलाला भर्खर १९ वर्षकी भइन्, तर उनले २०१४ मा भारतका धेरै जेठा सामाजिक कार्यकर्ता कैलाश सत्यार्थीका साथ, शान्तिका लागि नोबेल पुरस्कार प्राप्त गरेकी थिइन् । त्यति मात्रै होइन, संयुक्त राष्ट्रसंघले उनलाई २०७३ चैत २ गते संयुक्त राष्ट्रसंघले उनलाई ‘शान्ति दूत’ चयन गरेको छ, उक्त पदमा चयन हुने उनी, हालसम्मकै सबैभन्दा कान्छी व्यक्ति हुन् ।
स्मरणीय छ, मलाला युसुफलाई सन् २०१२ अक्टोबर ९ को दिन पाकिस्तानमा, तालिवानको स्कूल बन्द गराउने कोसिसको वावजुद, स्कूल गएको आरोपमा तालिवानीहरूले गोली हानेका थिए । त्यो गोली उनलाई ज्यान मार्ने उद्देश्यले हानिएको भएतापनि, उनी बाँचिन् । त्यसपछिका दिनहरूमा, उनलाई प्राप्त भएको मौकाकै कारण, आज कहाँबाट कहाँ पुगिसकिन् । उनको आत्मविश्वास र विदेशमासमेत गरेको व्यवहार देख्दा, यहाँका कतिपय ‘उमेरका पाका ठूलाबडाहरू’ पनि पानी मुनि नै पुग्लान् जस्तो लाग्यो । त्यसैले उमेरको कारण देखाएर सक्षम र असक्षमको बिल्ला लाउनु भनेको, आँखा चिम्लिएर हिंड्दै, हुँदै नभएको भीरबाट खस्छु भन्ने डर जस्तै हो ।
कसैकसैलाई, त्यो उमेरमा युवाहरू अनुभवी र परिपक्व भइसक्तैनन् बन्ने भ्रम पनि देखियो । यसमा चाहिं के लाग्छ भने, विशेषगरी दक्षिण एशियाली मुलुकहरूमा, अभिभावकहरूले अलि बढी नै ‘संरक्षकको भूमिका निर्वाह गर्ने’ या अर्को अर्थमा, ‘हेलिकप्टर प्यारेन्टिङ’ गर्ने कारणले पनि त्यो भ्रम देखिएको हुनसक्छ । यसको उदाहरण, अभिभावकहरू, छोरालाई पनि विवाह गरेर पत्नीको जिम्मा नलगाउन्जेल, ‘परिपक्व छ’ भनेर कमै छाड्छन्
अझ छोरीको मामिलामा त, १५ वर्ष नपुग्दै विवाह गरेर अर्काको घरको जिम्मेवारी बोकाउन तयार, कानूनले तोकेको २१ वर्षे उमेरमाथि काम गर्नै नदिइ शंका ? के त्यहाँ गएर एक्लो व्यक्तिले, तलदेखि माथिसम्मको काममा टाँचा लगाउने हो र ? जो त्यो पदमा पुग्छ, उसको पछाडि उसलाई चयन गर्ने राजनैतिक दलको जिम्मेवारी र भूमिका हुँदैन र ?
त्यसका लागि पनि विश्वका केही कम उमेरका नेताहरूको उदाहरण प्रस्तुत गर्दछु–पहिलो त, आधुनिक नेपालको निर्माता पृथ्वीनारायण शाहलाई नै लिए हुन्छ । जसले २१ वर्षको उमेरमा, कूटनीति, राजनीतिका साथै सैन्यरणनीति प्रयोग गरेर एकीकरणको डाका पिटे, जसको आडमा, हामी युवाले काम गर्न सक्तैनन् भनेर नकारात्मक झ्याली पिटिरहेछौं ।
सन् २०१२ मा उगान्डाको पार्लियामेन्टमा १९ वर्षीया प्रोस्कोभिया एलेङ्गट ओरोमेट १९ वर्षको उमेरमा सांसद भएकी थिइन् र त्यस्तो पुरुषसत्तात्मक समाजले पनि १९ वर्षेलाई सांसद बनाउनु हुन्न भनेर जोरी खोजेको थिएन ।
अर्को उदाहरण । सन् २०१२ मै अमेरिकाको हवाई राज्यका सिनेटर कनेला इङ्लाई लिन सकिन्छ, सांसद चुनिंदा उनको उमेर जम्मा २५ वर्षको थियो । अमेरिका यस्तो देश हो, जहाँका सांसदहरू (हाउस अफ रेप्रिजेन्टेटिभ या सिनेटर) को योग्यता मापन गर्दा उनीहरू कानून पढेका र सैन्य सेवामा समय बिताएकाहरूलाई निकै महत्व दिन्छन् ।
शियरब्रुक, क्युबेक, क्यानडा पियर्रे लुक डुस्ल्यान्ट (उच्चारण गलत हुनसक्छ) सन् २०११ मा मेम्बर अफ पार्लियामेन्ट हुँदा जम्मा १९ वर्षका थिए, तर उमेरले उनको क्षमतालाइ मेटाउन खोजिएको थिएन । खोज्दै जाने हो भने विश्वमा यस्ता उदाहरणहरू थुप्रै भेटिन्छन् । जति भूमिका बाँधे पनि, युवालाई अन्डरस्टिमेट नगरौं, उनीहरू यो देशका वर्तमान र भविष्य दुबै हुन् ।
यसैपनि, राजनैतिक दलहरूले स्थानीय निर्वाचन ऐनको दफा १७, उपदफा ४ अनुसारक पदहरूमा मनोनयनपत्र पेश गर्दा अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये पचास प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेश गर्ने व्यवस्था मिलाउनु पर्नेछ । त्यसमा युवा/महिला/दलित/अपाङ्गहरूलाई प्राथमिकताका साथ अगाडि बढाए हानी होइन, उनीहरूले हालका ‘कथित ठूलाबडा’ले भन्दा बढी दिलोज्यानले काम गर्छन् बन्ने सकारात्मक सोच राखे के बिग्री हाल्छ र ? उनीहरू यसकारणले पनि बढ्ता जिम्मेवार भएर काम गर्छन, किन कि, उनीहरूललाई, ‘गर्न सक्छौं †’ भनेर प्रमाणितसमेत हुनु छ ।
खैर, अहिले रञ्जु दर्शनाले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरो बनेको दह्रो आत्मविश्वासका साथ Egoist लाई face गर्ने, Neutral लाई convince गर्ने र Youngsters को विश्वास जित्नेमात्रै हो, त्यसपछिको परिणाम आफैं आउँछ ।
बरु, यसरी पहिलो पटक नयाँ व्यक्तिलाई उम्मेदवार बनाउन लागेका राजनैतिक दलहरूले आफ्ना उम्मेदवारहरूलाई करीब एक हप्ता जतिको बन्द (सत्रमा राखेर, नेपालको राजनैतिक, आर्थिक, वैदेशिक, लैंगिक नीतिहरू बारेमा सम्बन्धित विषयका विद्वानहरूनै बोलाएर तालीम दिए पश्चात फिल्डडमा पठाउने हो भने, उनीहरूले सर्वसाधारणको सहयोग र भोट दुबै पाउने थिए र योग्य व्यक्तिहरू चुन्न सजिलो पनि हुने थियो । यसतर्फ ध्यान जान्थ्यो कि ?

0 comments:

Post a Comment