पूर्वाधार विकास बैंकलाई लाइसेन्स खुला, चुक्ता पुँजी २० अर्ब र सर्वसाधारणमा ३०% सेयर

काठमाडौं : नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई लाइसेन्स दिने बाटो खुला गरेको छ । राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको इजाजत सम्बन्धी नीतिगत व्यवस्था, २०७४ लागू गरेको हो । राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको रुपमा काम गर्ने वित्तीय संस्थाको चुक्ता पुँजी न्यूनतम २० अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । नयाँ खुल्ने पूर्वाधार विकास बैंकले न्यूनतम ३०% सेयर सर्वसाधारणमा जारी गर्नुपर्नेछ भने संस्थापक समूहको सेयर स्वामित्व न्यूनतम ५१% हुनुपर्नेछ । यसैगरी, कर्मचारीका लागि ०.२% सेयर छुट्याउनुपर्नेछ । विदेशी बैंक वा वित्तीय संस्थाको संयुक्त लगानीमा खुल्ने पूर्वाधार विकास बैंकमा भने विदेशी लगानीकर्ताले न्यूनतम २०% देखि ८५% सम्म सेयर लगानी गर्न पाउनेछन् ।

यस्ता संस्थाले न्यूनतम १५% सेयर सर्वसाधारणमा जारी गर्नुपर्नेछ । तर, विदेशी सेयर ५०% भन्दा कम भएमा भने सर्वसाधारणमा ३०% नै सेयर जारी गर्नुपर्नेछ । राष्ट्र बैंकको व्यवस्था अनुसार नेपाली संस्थापक समूहले कुनै पनि बैंक वा वित्तीय संस्थाबाट कर्जा तथा सापट लिएर पूर्वाधार विकास बैंकमा लगानी गर्न पाउने छैनन् । बैंक दर्ता गराउन चाहने व्यक्ति तथा संस्थाले पूर्वाधार विकास बैंकलाई पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता गराउनुपर्नेछ । राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको ६ महिनाभित्र कम्पनी दर्ता गराउनुपर्नेछ ।

0 comments:

Post a Comment