काठमाडौं : केही सयम अघि बैंकहरुले भारी मात्रामा अनुत्पादनशील क्षेत्रमा लगानी बढाउँदा बैंक तथा वित्तीय क्षेत्रमा तरलता (लगानी योग्य रकम) अभाव चर्कियो । ऋण दिने पैसा समेत नभएको भन्दै बैंकहरुले स्थिति सहज बनाउन केन्द्रीय बैंकलाई हारगुहारसमेत गरे । तर, तरलताको चरम अभावमा परेका बैंकहरुलाई राष्ट्र बैंकले भने अनुत्पादनशील क्षेत्रमा व्यापक लगानी विस्तार गर्दा बैंकले संकट भोग्नु परेको बतायो । केही सार्वजनिक कार्यक्रममा त गभर्नरले खुलेरै बैंकरहरुले निजी व्यावसाय जस्तो ठानेर जहाँ मन लाग्यो त्यहीँ लगानी गर्दा यस्तो अवस्था आएको समेत भने । बैंकको सीसीडी रेसियोले लक्ष्मण रेखा नाघेपछि बैंकहरुले यस्तो रेसियो हटाउन लबिङ समेत गरे । यता, नियामकले तत्काललाई सीसीडी रेसियो नहटाउने आफ्नो अडान छाडेन । गर्भनर डा. चिरञ्जीवी नेपालले सीसीडी रेसियो हटाउँदा बैंकहरु जोखिममा पर्छन्, अनि जनताको पैसा डुब्छ भन्दै अडानबाट ब्याक भएनन् । तर पछिल्लो समय स्थानीय निकायको चुनाव भएको र नयाँ आर्थिक वर्ष लागेसँगै आर्थिक वर्षको अन्तिममा अत्याधिकमात्रा हुने विकासे खर्चले पनि अवस्था सहज बनाइसकेको छ । राष्ट्र बैंकका अनुसार हाल बैकिङ प्रणालीमा १ खर्बको हाराहारीमा तरलता छ । कर्जा दिने पैसा समेत नभएको भन्दै निक्षेप तान्न बचत र मुद्दति निक्षेपमा व्यापक ब्याजदर बढाएका बैंकहरुले स्थिति सहजतर्फ उन्मुख भइसक्दा पनि कोषको लागत र बेस रेट बढेको भन्दै कर्जाको ब्याजदर घटाउन चाहिरहेका छैनन् । चर्को ब्याज दिने गरी मुद्दति निक्षेपमा पैसा लिइसकेकाले तत्काल ब्याजदर घट्ने अवस्था पनि देखिँदैन । यस्तो अवस्थामा ब्याजदर तत्काल घट्न सक्ने आधारसहित अर्थतन्त्रका विभिन्न औजारहरु प्रयोग सकिने महत्वपूर्ण टिप्सहरु बैंकिङ विज्ञ अनलराज भट्टराईले दिएका छन् । यस्ता छन् ब्याजदर घटाउन सकिने उनका ४ उपाय :
१.सीसीडी रेसियो हटाएर २० प्रतिशत तरल सम्पत्तिको व्यवस्था गर्नुपर्छ
बैंकले कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) हटाएर २० प्रतिशत तरल सम्पतिको व्यवस्था गर्नुपर्छ । सीसीडी रेसियोमा ८०ः२० को अनुपात छ । यसमा ८० प्रतिशत लगानी गर्न पाइने भयो र २० प्रतिशत बैंकमै राख्नुपर्ने (१०० रुपैयाँमा ८० रुपैयाँ लगानी गरेपनि २० रुपैयाँ बैंकमै राख्नुपर्ने) भयो । यसमा बैंकहरुले आफूसँग भएको २० प्रतिशत रकमको आम्दानी पनि त्यही ८० प्रतिशतबाट उठाउँछन् । जसको अन्तिम मारमा पर्ने भनेकोे फेरि पनि उपभोक्ता नै हुन् । सीसीडी ८० प्रतिशत राख्दा एसएलआर (वैधानिक तरलता अनुपात) १४ प्रतिशत र सीआरआर (अनिवार्य नगद मौज्दात) ६ प्रतिशत राख्नुपर्ने अहिलेको अवस्थाबाट मुक्त भएर २० प्रतिशत तरल सम्पत्ति भन्ने व्यवस्था गर्यो भने ब्याजदर घट्न सक्छ । पहिला सीसीडी रेसियो ३–३ महिनामा मोनिटरिङ हुन्थ्यो भने अहिले अदृश्य रुपमा महिनैपिच्छे सीसीडी मोनिटरिङ भइरहेको छ । अहिले बैंकमा निक्षेप बढेन भनिएको छ तर निक्षेप नबढेको भन्दा पनि बढेको निक्षेप क्यापिटलमा कन्र्भट भएको हो । निक्षेपको करिब एक सय अर्ब अंश पुँजीमा (क्यापिटल) कन्भर्ट भएको छ । अहिले बैंक तथा वित्तीय संस्थामा २ खर्ब ८५ अर्ब पुँजी छ । यदि राष्ट्र बैंकले सीसीडी रेसियो हटाएर २० प्रतिशत तरल सम्पति भनेर राख्यो भने १ खर्ब ७१ अर्ब फ्रि हुन्छ । सीसीडी रेसियो ८५ प्रतिशतमा पुर्यायो भने २ खर्ब ४३ अर्ब फ्रि हुन्छ । र, अन्तर्राष्ट्रिय मान्यता अनुसार वासेल थ्रीको नम्र्समा गएर १५ प्रतिशत अर्थात् २ खर्ब १० अर्ब फ्रि हुन्छ । यसले बजारमा पैसाको आपूर्ति बढाउँछ र कर्जाको ब्याजदर घटाउन मद्दत गर्छ ।
२. ब्याजदर करिडोरमा (न्यूनतम र अधिकतमको ब्याजदर सिमा) ल्याउनुपर्याे
सन २०१६ नोभेम्बरमा ९ अर्ब बचत निक्षेप थियो । यो २०१७ मा आइपुग्दा घटेर ८ अर्ब पुगेको छ । एक वर्ष अघि बचत निक्षेपमा ३ प्रतिशत ब्याजदर थियो तर अहिले ९ प्रतिशतसम्म पुगेको छ । मुद्दति निक्षेपमा त १२–१३ प्रतिशतसम्म पुगेको छ । बचत दरलाई नियन्त्रणभन्दा बाहिर जान दिनु भएन । बचतमा ब्याजदर बढ्दा कर्जाको ब्याजदर स्वतः बढ्छ । ब्याजदर करिडोरमा ल्याउन आवाश्यक छ ।
३.कर्जामा मार्जिन तोक्नु भएन
अहिले राष्ट्र बैंकले सेयरमा ५० प्रतिशत मार्जिन, गाडीमा ६५ प्रतिशत मार्जिन र रियलस्टेटमा ४० प्रतिशत मार्जिन भनेर तोकेको छ । अब ऋण दिंदा मर्जिनको आधारमा होइन रिक्स वेटको आधारमा ऋण दिने व्यवस्था गर्नुपर्छ । मार्जिन तोक्दा राम्रा ऋणीले चाहेजति ऋण लिन नपाउने भए । सबै ऋणी नराम्रा हुदैनन् । यसकारण रिक्स वेटको आधारमा ऋण दिन पाउने व्यवस्था गर्नुपर्छ । रिक्स वेट बढाएर ऋण दियो भने बैंकहरु आफै पनि कन्ट्रोल हुन्छन् ।
४.नेगेटिभ क्यारिङ कस्ट अफ लिक्विडिटीलाई घटाइ दिनुपर्याे
मनी मार्केटका लागि जीडीपीको २५ प्रतिशत तरलतालाई लगानी गर्ने उपकरण छैन । यसलाई नेगेटिभ क्यारिङ कस्ट अफ लिक्विडिटी भनिन्छ । यस्तो लिक्विडिटी घटाउनुपर्छ । ट्रेजरी विलको रेट १ प्रतिशत भन्दा कम छ । बचतको ब्याजदर बढ्नु राम्रो भएपनि एकै पटक २–३ गुणा वृद्धि हुँदा समस्या हुन्छ । ब्याजदर वृद्धिले हरेक कुरामा असर गर्छ ।
0 comments:
Post a Comment