बेल्टरोड सम्मेलनमा अमेरिकाको तर्फबाट राष्ट्रिय सुरक्षा परिषद्का पूर्वी एसियाली मामिला हेर्ने वरिष्ठ निर्देशक म्याट प्याटिंगर सहभागी थिए । अमेरिका र जापान दुवै मुलुकले बेल्टरोड सम्मेलनमा जनाएको उपस्थितिको आर्थिक साथसाथै गम्भीर राजनीतिक र रणनीतिक अर्थ छ भनेर बुझ्नुपर्छ ।
चिनियाँ राष्ट्रपतिसँगको साइडलाइन भेटको अवसरमा निकाईले अबेको एउटा हस्तलिखित पत्र राष्ट्रपति सी जिनपिङलाई बुझाएका थिए । उक्त पत्रमा सम्बन्ध सुधारको लागि दुवै मुलुकबीच उच्चस्तरीय भ्रमण, परस्पर आर्थिक सम्बन्धलाई सबलीकरण र सहजीकरण अनि बेल्टरोड अभियानमा सहकार्यका प्रस्तावहरू उल्लेख गरिएकोबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

गत जुलाई १७ मा जे. वर्कसायर मिल्लरले फरेन अफियर्स पत्रिकामा उल्लेख गरेअनुसार चीनको बेल्टरोड परियोजनाको कार्यान्वयन तथा सञ्चालन विधिविधान, ऋण तथा अनुदान व्यवस्थापनबारे सुरुमा जापानका केही दुविधा थिए । उक्त विराट् परियोजनाले क्षेत्रीय भूराजनीतिक परिदृश्यमा चिनियाँ प्रभावमा हुने वृद्धिले जापान आशंकित थियो । हिन्द महासागर क्षेत्रका श्रीलंका, पाकिस्तान आदि मुलुकहरूमा चीनले विकास गरेका बन्दरगाह सुविधाहरूका कारण सो जल क्षेत्रमा चीनको भूरणनीतिक प्रभाव विस्तारबारे पनि जापान गम्भीर थियो ।
तर बेल्टरोड परियोजनाले जापानको लागि निर्माण हुने विराट् अवसरहरूबाट अलग रहनु जापानको राजनीतिक, आर्थिक र रणनीतिक हितमा नभएको अनुभव जापानका प्रधानमन्त्री आबेले गरे । चीनका राष्ट्रपतिसँगको व्यक्तिगत सम्बन्धमा घनिष्टता थप्ने अवसरका रूपमा समेत यसलाई ग्रहण गरेर उनले आफ्ना निकट विश्वास पात्रलाई व्यक्तिगत पत्रसहित उक्त सम्मेलनमा भाग लिन पठाएका थिए ।
बेल्टरोड सम्मेलनको करिब तीन सातापछि टोकियोमा एसियाको भविष्य सम्बन्धमा भएको तेइसौं अन्तर्राष्ट्रिय सम्मेलनमा जापानी प्रधानमन्त्री अबेले यिबु-लन्डन मालवाहक रेलको पूर्वपश्चिम यात्रालाई इंगित गर्दै बेल्टरोड परियोजनाको अंगको रूपमा युरेसियाको भूखण्डले एउटा विशिष्ट ऐतिहासिक सफलता हासिल गरेको बताएका थिए ।
0 comments:
Post a Comment