‘एबीबीए’ बारे अन्योल

 आर्सनलले बेलायती फुटबलमा नयाँ इतिहास बनायो, जति बेला उसले पेनाल्टी सुटआउटमा चेल्सीलाई हरायो । यसपल्ट पेनाल्टी सुटआउट भएको थियो, ‘एबीबीए’ ढाँचामा । यो नयाँ स्वरूपलाई लिएर धेरै फुटबल पण्डितदेखि लिएर प्रशंसक भने अन्योलमा परेका छन् । कम्युनिटी सिल्डको ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि

वेम्बलीमा भएको प्रतिस्पर्धामा आर्सनल टाइब्रेकरमा ४–१ ले विजयी रह्यो । यो पेनाल्टी प्रहारको ढाँचा टेनिसमा टाइब्रेकरजस्तै छ । यसको उद्देश्य छ, दुवै टिम (ए र बी टिम) प्रति समान न्याय । सामान्यत: पेनाल्टी सुटआउटमा पहिले प्रहार गर्नेलाई फाइदा हुने गर्छ । यसरी पेनाल्टी प्रहार गर्दा एक टिमले प्रहार गरेपछि अर्कोको पालो हुन्छ । छोटकरीमा भन्दा एबी, एबी, एबी र एबी । नयाँ ढाँचाअनुसार हुनेछ– एबी, बीए, एबी, बीए । नयाँ ढाँचाले दोस्रोपल्ट पेनाल्टी प्रहार गर्नेलाई कम मानसिक दबाब दिने पनि दाबी छ ।

यसबाट पहिले पेनाल्टी प्रहार गर्नेलाई फाइदा पनि कम हुने विश्वास छ । यस नयाँ स्वरूपको पेनाल्टी प्रहारबाट आर्सनलले भरपुर फाइदा लियो । टिम सबै पेनाल्टीलाई गोलमा परिणत गर्न सफल रह्यो । यो खेलका क्रममा कमेन्ट्री बक्समा थिए, इङल्यान्डका पूर्वकप्तान स्टेफन जेरार्ड । उनी आफैं पनि यस नयाँ ढाँचालाई लिएर ढुक्क देखिएनन् । उनको भनाइ थियो, ‘मलाई त पुरानै ढाँचा मनपर्‍यो । त्यो नै रोमाञ्चक थियो ।’

त्यसमै बढी तनाव पनि थियो । यसमा पनि कोही टिमलाई प्राप्त हुने विशेष फाइदा फेरिएको छ ।’ उनले त्यसका लागि तर्क पनि प्रस्तुत गरेका छन् । जस्तो, नयाँ ढाँचामा पहिले पेनाल्टी प्रहार गर्ने टिम गोलमा चुक्दा फाइदा दोस्रो टिमलाई हुनसक्छ । त्यसका लागि दोस्रो टिमले लगातार दुई प्रहार गोलमा परिणत गर्नुपर्छ । त्यति बेला स्कोर हुनेछ, २–० ।

इङलिस टिमका पूर्व व्यवस्थापक ग्लेन होडलले पनि भनेका छन्, ‘यसअघि धेरैले पहिले पेनाल्टी प्रहारका लािग निर्णय गर्ने गथ्र्यो । अब नयाँ ढाँचाका लागि पक्कै पनि दुईपल्ट सोच्नेछ ।’ यसपल्ट प्रयोग भएको नयाँ ‘एबीबीए’ ढाँचाबारे सामाजिक सञ्जालमा पनि धेरै प्रतिक्रिया आए । धेरैले यो स्वरूपको विरोध गरेका छन् । इङलिस फुटबल लिगले यस सिजनबाट आफ्ना प्रतियोगितामा पेनाल्टी सुटआउटको आवश्यकता पर्दा ‘एबीबीए’ ढाँचा प्रयोगमा ल्याउने छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ र युरोपेली फुटबल महासंघले पनि यो नियमको परीक्षण गरिसकेका छन् ।






0 comments:

Post a Comment