चेल्सीको लगातार दोस्रो जित


भाद्र १२, २०७४- डिफेन्डिङ च्याम्पियन चेल्सीले प्रिमियर लिगमा आइतबार एभरटनलाई पराजित गरेको छ । स्पेनिस खेलाडीद्वय सेस फाब्रिगास र अल्भारो मोराटाको गोलसँगै चेल्सी २–० ले विजयी रह्यो । 
२७ औं मिनेटमा मोराटाले हेड गरेको बलमा फाब्रिगासले गोल गरे । पहिलो हाफको पाँच मिनेट बाँकी रहँदा मोराटाले चेल्सीको अग्रता दोब्बर पारे । उनले सेजार एज्पिलिक्वेटाको क्रसमा हेडर गोल गरेका थिए । चेल्सीले लगातार जितसँगै ३ खेलमा ६ अंक जोडेको छ ।
वेस्ट ब्रुम र स्टोक सिटीबीचको खेल १–१ को बराबरीमा टुंगियो । जे रोड्रिग्वेजले ६१ औं मिनेटमा वेस्ट ब्रुमलाई दिलाएको अग्रतामा स्टोकबाट पिटर क्रचले ७७ औं मिनेटमा बराबरी गोल गरे ।
यसअघि सब्स्टिच्युट मार्कस रासफोर्ड र मउरोने फेलानीले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले लिगमा लेस्टर सिटीलाई आफ्नो शतप्रतिशत सुरुआत कायम राख्यो । लेस्टरले बलियो चुनौती पेस गरेको खेलमा उसका गोलरक्षक कास्पर स्माइकलले रोमेलु लुकाकुको पेनाल्टी बचाएका थिए । हडर्सफिल्ड टाउन र साउथह्याम्पटनले गोलरहित बराबरी खेलेपछि जोसे मोउरिन्होको म्यानचेस्टर छ अंकसहित एक्लै शीर्ष स्थानमा रहन सफल भएको हो । 
स्पेन
म्याड्रिड– लियोनल मेसीले पेनाल्टीबाट चुकेको अवसर बिर्साउँदै दुई गोल गरेपछि बार्सिलोनाले स्पेनी ला लिगामा एलाभेसलाई २–० ले हरायो र लिगमा शतप्रतिशत सुरुआत कायम राख्यो । नेयमरसँगै चोटग्रस्त लुइस स्वारेजबिना खेलेको बार्सिलोनाले यस जितसँगै आफूलाई सुरुआती उपाधि होडमा कायम राख्यो । पाँचपल्टका विश्वका उत्कृष्ट खेलाडी मेसी आफ्नो खेलजीवनमा २० औंपल्ट पेनाल्टीबाट गोल गर्न चुके । तर त्यसयता दुई गोल गर्न भने सफल रहे । 
‘यो कठिन खेल थियो, त्यसैले यो जित निकै महत्त्वपूर्ण रह्यो,’ बार्सिलोनाका प्रशिक्षक एरनिस्टो भाल्भेरेडले भने, ‘अहिले क्लबले केही कठिनाइ सामना गरिरहेको छ, त्यसैले दुई खेलबाट छ अंक राम्रो सुरुआत हो ।’ शनिबारका अरू खेलमा कोकेको दुई गोल मदतले एटलेटिको म्याड्रिडले लास पाल्मासमाथि ५–१ को जित निकाल्यो । स्पेनी माथिल्लो डिभिजनमा पहिलो जित आत्मसात् गर्ने क्रममा जिरोना मालागालाई १–० ले हराउन सफल रह्यो । 
इटाली
मिलान– मउरो इकाडीले दोस्रो हाफमा दुई गोल गरेपछि इन्टर मिलानले शनिबार इटालीको सिरी ‘ए’ मा एएस रोमालाई ३–१ ले हरायो । स्टाडियो ओलम्पिकोमा प्राप्त जितसँगै इन्टरले आफूलाई लिगको उपाधि दाबेदारका रूपमा प्रस्तुत गरेको छ । एडिन जेकोको गोलले रोमाले सुरुआती अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । यसअघि युभेन्ट्सले उत्कृष्ट पुनरागमन रच्दै जेनोओलाई ४–२ ले हरायो । त्यसमा पउल डेबालाले ह्याट्रिक गरे । 


कुन बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा राम्रो अनि खुद ब्याज आम्दानी कसको धेरै ?


काठमाडौं : सूचीकृत सबै वाणिज्य बैंकले आर्थिक वर्ष २०७३।७४ अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । विवरण प्रकाशित गरेका २८ वटा वाणिज्य बैंकमा कसको प्रतिसेयर आम्दानी अनि खुद ब्याज आम्दानी कसको धेरै छ भनेर लगानीकर्तामाझ बहस र छलफलसमेत सुरु भइसकेको छ । यही सेरोफेरोमा हामी पनि फेरि एकपटक सबै वाणिज्य बैंकको प्रतिसेयर आम्दानीसहितका महत्वपूर्ण एकीकृतरुपमा प्रस्तुत गरेका छौं । 
 
प्रतिसेयर आम्दानीमा नबिल सबैभन्दा अगाडि, सिभिल सबैभन्दा कमजोर
 
वित्तीय सूचकमा प्रतिसेयर आम्दानीलाई निकै महत्वका साथ हेरिन्छ । कुन कम्पनीको प्रतिसेयर आम्दानी कति छ त्यसलाई हेरेर लगानीकर्ताले लगानीसम्बन्धी निर्णय लिइरहेका हुन्छन् । प्रतिसेयर आम्दानी बढी हुने कम्पनीबाट राम्रो प्रतिफल पाउने आशामा लगानीकर्ताको आकर्षण बढी हुने गरेको छ । प्रकाशित वित्तीय विवरणलाई आधार मान्दा सबैभन्दा बढी प्रतिसेयर आम्दानी नबिल बैंकको देखिन्छ । नबिलको प्रतिसेयर आम्दानी  ५८ रुपैयाँ ५४ पैसा (वार्षिक) छ । हाल वित्तीय विवरण प्रकाशित गरेका बैंकहरुमा सबैभन्दा बढी प्रतिसेयर आम्दानी भएपनि अघिल्लो वर्षको तुलनामा भने यस बैंकको पनि प्रतिसेयर आम्दानी थोरैले घटेको हो । अघिल्लो वर्ष नबिलको प्रतिसेयर आम्दानी ५९ रुपैयाँ २७ पैसा थियो । उसो त नबिलले यो त्रैमासमा उत्साहजक प्रगति हासिल गरेको छ । नबिलको खुद नाफा अघिल्लो वर्षको तुलनामा २८.४३ प्रतिशतले बढेर ३ अर्ब ६२ करोड भन्दा धेरै भइसकेको छ । यता, एभरेष्ट दोस्रो धेरै प्रतिसेयर आम्दानी हुने बैंकमा दर्ज भएको छ । एभरेष्टको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा छ । तर, बैंकले प्रकाशित गरेको प्रतिवेदनमा भन्दा वास्तविक प्रतिसेयर आम्दानी केही फरक देखिन्छ । खुद नाफा र सेयर संख्याको आधारमा हिसाब गर्दा बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ५१ पैसामात्र हुन आउँछ । बैंकले असार १८ देखि साउन २२ गतेसम्म हकप्रद बिक्री गरेको थियो । हकप्रदको कल इन एडभान्स चुक्ता पुँजीमा जोडिए पनि बैंकले लगानी गर्न भने पाएको छैन । बैंकले यही आधारमा प्रतिसेयर आम्दानी गणना गर्दा वास्तविक भन्दा फरक परेको हो । तेस्रो बढी प्रतिसेयर आम्दानी हुनेमा नेपाल बैंक देखिएको छ । नेपाल बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ३ पैसा छ । तर सिभिल बैंक, सेञ्चुरी बैंक र जनता बैंकको प्रतिसेयर आम्दानी तुलनात्मकरुपमा कमजोर देखिएको छ । सिभिलको प्रतिसेयर आम्दानी जम्मा ६ रुपैयाँ ५२ पैसा छ भने सेञ्चुरीको ८ रुपैयाँ २ पैसा छ । यस्तै, जनता बैंकको पनि प्रतिसेयर आम्दानी ९ रुपैयाँ १८ पैसामात्र छ ।  


ब्याजबाट मात्रै ८१ अर्ब रुपैयाँभन्दा बढी आम्दानी 
 
वित्तीय विवरण सार्वजनिक गरेका २८ वाणिज्य बैंकले समग्रमा ८१ अर्ब ४ करोड १२ लाख ७५ हजार ३१० रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । कृषि विकास बैंकले ७ अर्ब १० करोड ४० लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेर सबैभन्दा बढी ब्याज आम्दानी गर्ने बैंकमा सूचीकृत भएको छ । यो अघिल्लो वर्ष भन्दा १३.४६ प्रतिशतले बढी हो । यता, नेप्सेमा सूचीकृत नभएको राष्ट्रिय वाणिज्य बैंकले पनि ६ अर्ब ९७ करोड ९१ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सरकारी स्वामित्वको यस बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा २५.७५ प्रतिशतले बढोत्तरी भएको हो । यो बैंकमा सर्वसाधारणले सेयर लगानी गर्न पाएका छैनन् । किन भने अहिलेसम्म यो बैंकले जनतालाई सेयर बिक्री गरेको छैन । अधिकांश बैंकको खुद ब्याज आम्दानी २ अर्ब रुपैयाँ भन्दा बढी देखिन्छ । उता, नबिल बैंकले खुद ब्याज आम्दानी २६.२० प्रतिशतले वृद्धि गरी ५ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ  पुर्याएको वित्तीय प्रतिवेदनमा उल्लेख छ । नेपाल इन्भेष्टमेन्ट बैंकको खुद ब्याज आम्दानी पनि २२.०१ प्रतिशतले बढेर ४ अर्ब ७८ करोड ४१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । यसका प्राय सूचकहरु उकालो लागेका छन् । प्रभु बैंक, माछापुच्छ«े बैंक, सिद्धार्थ बैंक, एनआइसी एसिया, सानिमा, सनराइज, एनएमबी, नेपाल एसबीआई,  स्टान्डर्ड चार्टड र बैंक अफ काठमान्डू लगायत बैंकले पनि २ अर्ब रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेका छन् । यता, ग्लोबल आइएमई, हिमालयन बैंक र एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँ बढी ब्याजबाट आम्दानी गरेका छन् । अन्य बैंकहरुले पनि १ अर्ब माथि खुद ब्याज आम्दानी गरेको विवरण बाहिर ल्याएका छन् ।
 

स्वरोजगार लघुवित्तको २५% बोनस, त्यसपछि फेरि १००% हकप्रद


काठमाडौं : स्वरोजगार लघुवित्त विकास बैंकले २५% बोनस सेयर र कर तिर्न १.३२% नगद लाभांस दिने भएको छ । स्वरोजगारको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ६ करोड ९९ लाख ९८ हजार ७२० रुपैयाँको बोनस सेयर र कर तिर्न ९ लाख २३ हजार ९८३ रुपैयाँ बराबारको नगद लाभांश दिने निर्णय गरेको हो । त्यस्तै, कम्पनीले बोनस सेयर र हालै बिक्री गरेको ५०% हकप्रदपछि कायम हुने चुक्ता पुँजीमा पुनः १००% हकप्रद सेयर निष्कासन खुला गर्ने जनाएको छ । हाल स्वारेजगारको चुक्ता पुँजी ६ करोड ९९ लाख ९८ हजार रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड ८६ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ९१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ९ पैसा छ ।
 

लगानी गर्नुअघि जग बसाउनु भएको छ त ? सेयर बजारको मनोविज्ञान झनै चुनौतीपूर्ण हुन्छ

न्यूयोर्क : के तपाई राम्रो जग नबसाई घर बनाउने कोशिस गर्नुहुन्छ ? अवश्य गर्नुहुन्न, यस्तो मूखर्ता तपाईले जीवनभर गर्नु हुन्न अनि देख्न पनि चाहनु हुन्न होला । हो, जसरी गतिलो जग नबसाई घर बनाउन सकिँदैन त्यसरी नै वित्तीय जग मजबुत नभई लगानी पनि गर्न सकिँदैन । जब तपाई आफ्नो निकै दुःख गरेर पसिना बगाएर कमाएको पैसालाई अझ वृद्धि गर्ने सोचले लगानी गर्न चाहनुहुन्छ भने त्यतिबेला तपाईले आफ्नो वित्तीय धरातल–जग मजबुत बनाउने बारे अवश्य सोच्नुपर्ने हुन्छ । के तपाईले अहिलेसम्म आफ्नो वित्तीय जग बनाउनु भएको छ ? अनि बनाएको भए त्यो जग कति मजबुत छ ? जगले वित्तीय हुरिबतास, मौसम वा भूकम्प (वित्तीय संकट) पनि झेल्न सक्ने छ कि छैन ? लगानी गर्नुअघि यी यावत् विषयमा ध्यान दिनुपर्ने हुन्छ । सुरक्षित बस्नका लागि मजबुत घर बनाए जस्तै जीवनमा आउनसक्ने वित्तीय संकटबाट सुरक्षित हुन हामी कतिले आफ्नो वित्तीय जग मजबुत बनाएका छौं ? वित्तीय जग मजबुत बनाउन हामी कति सक्षम छौं वा जान्दछौं भन्नेबारेमा सचेतना हुन आवश्यक छ । वित्तीय जग मजबुत नबनाई लगानी गर्दा अवश्य पनि समस्या भोग्नुपर्ने हुन्छ । भविष्यमा वित्तीय संकट नआओस भन्नका लागि वित्तीय जग तयार गर्न हामी सामान्य प्रकृया अपनाउन सक्छौं । यस प्रकृयाका प्रमुख ४ चरणहरु छन्, जसलाई यहाँ विस्तारमा वर्णन गरिएको छ ।

१. बिमा गरी सुरक्षित हुने : सबैभन्दा पहिला आफ्नो भौतिक शरीरलाई भविष्यमा आउन सक्ने स्वास्थ्य समस्याबाट सुरक्षित गर्नुपर्छ । कतिपय बेला नचिताएको घटना वा दुर्घटना पनि घट्न सक्छ, जसले तापाईलाई शारीरिक रुपमा अशक्त बनाउनुका साथै मृत्युको मुखमा समेत पुर्याउन सक्छ । यस्तो अवस्थामा तपाईले ऋण लिनु भएको छ भने त्यो ऋण तपाईको परिवारले तिर्नुपर्ने हुन्छ । यदि, परिवारको आयश्रोत तपाईमा नै निर्भर छ वा आयआर्जन गर्ने परिवारको तपाई एकमात्र व्यक्ति हो भने त झन् बिमा गर्नु अति नै आवश्यक हुन्छ । यसका लागि बजारबाट आफूलाई पायक पर्ने कम्पनी वा संस्थाको इन्सुरेन्स पोलिसी किन्न सकिन्छ । यति भइसकेपछि पहिलो त तपाइलाई मनको शान्ति मिल्छ भने दोस्रो आफूलाई केही भइहाल्यो भने पनि इन्सुरेन्स कम्पनीले दिने रकमले आफ्नो अनुपस्थितिमा परिवारका सदस्यले वित्तीय भार वहन गर्नसक्ने क्षमता राख्नेछन् । तेस्रो, यसले आफ्ना सन्तानको शिक्षाका साथै परिवारका आधारभूत आवश्यकता पनि पूरा गर्ने मौका प्रदान गर्छ । 
 
२. ऋण–कर्जा भुक्तानी : हामीमा आफन्त तथा साथीभाईहरुबाट छोटो समयका लागि कर्जा सापटी लिइहाल्ने प्रचलन बढ्दो छ । यस्तो कर्जा तथा सापटी औपचारिकरुपमा बैंक तथा वित्तीय संस्थाहरुबाट पनि लिने गरिएको हुन्छ । तर कतिपय समय कर्जासँगको सहज पहुँचले अप्ठेरो वित्तीय अवस्थामा धकेल्न सक्छ । यस्तो तब हुन्छ जब हामी कर्जा वा ऋणलाई सही व्यवस्थापन गर्नबाट चुक्छौ । यसका लागि दिन सकिने एकमात्र सुझाव भनेको सम्भव भएसम्म ऋण नलिनु नै हो । ऋण लिनुको सट्टा बरु एक भन्दा बढी काम गर्नु वा आम्दानीका विविध स्रोत विकास गर्नु उचित हुन जान्छ । यदि, चर्को ब्याजदरमा कर्जा लिनु भएको छ भने जतिसक्दो छिटो कर्जा भुक्तानी गर्नु उपयुक्त हुन्छ । अर्को, यदि तपाईले लगानी गर्नका लागि उच्च ब्याजदरमा कर्जा लिनु भएको छ भने त्यसको जोखिम झन् धेरै हुने सम्भावना रहन्छ । यस्तो अवस्थामा लगानीको प्रतिफल ब्याजदर भन्दा धेरै आउने हो वा होइन भन्ने पनि थाहा हुन जरुरी हुन्छ । यता, ब्याजदर पनि तिनुपर्ने हुन्छ । जसले जोखिम झन धेरै बढाएर लैजान्छ । यसकारण आफ्नो समग्र ऋण व्यवस्थापन गर्दै छोटो अवधिको कर्जा तिर्दै जानुपर्ने हुन्छ ।
 
३. आपतकालीन कोष व्यवस्था : आफ्नो घर होस् वा कार्यक्षेत्र कहीँ पनि ढुक्क हुने अवस्था छैन । अझ लगानी गर्दाको त कुरै छोडौं । यी अनिश्चितताहरु तपाईका लागि जोखिम हुन सक्छन् । व्यापार, जागिर, स्वास्थ्य, सम्पतिलगायत सबै विषयमा सफल होइन्छ भनेर अन्दाज लगाउने वा ठोकुवा गर्न सकिने अवस्था हुँदैन । त्यसैले हामी जस्तोसुकै जोखिम तथा आपतकालीन अवस्थाका लागि पनि तयार भएर बस्नुपर्छ । दैनिक जीवनका विविध विषयहरु अनिवार्य हुन्छन् । जस्तै, पढाइ शुल्क, घर भाडा, खाना तथा पेय पदार्थको खर्च, विजुलीको महसुल, स्वास्थ्य खर्चसहित अन्य । यी सबैको खर्च कटाएर केही सीमित रकम आपतकालीन कोषका लागि पनि छुट्याउनुपर्छ । यस्तो रकम जहिले पनि तरल अवस्थामा राख्नुपर्दछ । आपतकालीन कोषमा न्यूनतम ३ देखि ६ महिनासम्मको अम्दानी राख्नु उचित हुन्छ । जस्तै, यदि तपाई मासिक १५ हजार कमाउनुहुन्छ भने वार्षिक ४५ देखि ९० हजार रुपैयाँसम्म आपतकालीन कोषमा राख्न सकिन्छ । 
 
४. लगानी : माथिका ३ वटै काम गरिसकेपछि रकम बाँकी रहन्छ भनेमात्र तपाईका लागि लगानी उचित हुन सक्छ । लगानी गर्नु कुनै चानचुने विषय होइन । लगानी गर्नु निकै जटिल प्रकृया हो, जुन सामान्यतयः दीर्घकालीन हुने गर्दछ । तर खोजी गर्ने हो भने बजारमा अल्पकालीन लगानीका अवसरहरु पनि प्रशस्तै पाइन्छन् । यसका लागि संयमित र व्यवस्थित हुन पनि जरुरी छ । किनभने लगानी गर्दा तपाईले तत्कालको क्रय क्षमता गुमाए पनि भविष्यका लागि जग भने तयार गरिहेको हुनुहुनेछ । यसैगरी, लगानीका जोखिमहरु पनि उत्तिकै धेरै रहने गरेका छन् । यस्तो जोखिमलाई कम गर्न वित्तीय क्षेत्रसँग सम्बन्धित ज्ञान र विज्ञता हुन अति आवश्यक छ । बजारको स्वअध्ययन गर्नुका साथै तालिम लिएर पनि जोखिम कम गर्न सकिन्छ । ज्ञान आर्जन गर्न सकिन्छ । विशेषतः सेयर बजारमा लगानीका बारेमा धेरै सिकाउने भनेको आफ्नो अनुभवले नै हो । यता, प्राकृतिक रुपमै सेयर बजारको उतारचढाव र गतिलाई प्राविधिक रुपमा हेर्ने गरिन्छ ।
 
सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले लगानीकर्ताको लगानी निर्णयलाई प्रभाव पारेको हुन्छ । कुन कम्पनीको सेयर किन्ने, कुन सेयर होल्ड गर्ने वा बेच्ने भन्ने लगानीकर्ताको मनोविज्ञानले निर्धारण गरेको हुन्छ । यो आफ्नो व्यक्तिगत वा भीडको मनोविज्ञानले पनि उत्तिकै प्रभाव पारेको हुनसक्छ, जसले तपाईको निर्णयमा असर गरिरहेको हुन्छ । त्यसैले, सफल लगानीकर्ता बन्न यस्ता विभिन्न चुनौतीहरुलाई पार लगाउँदै जानुपर्ने हुन्छ ।
 
अन्त्यमा : लगानी गर्नुअघि वित्तीय आधार मजबुत बनाउनु अपरिहार्य छ । यो हरेक व्यक्तिलाई आवश्यक पनि हो । यसले वित्तीय सुरक्षा दिनुका साथै भविष्यमा देखा पर्नसक्ने जोखिमलाई पनि न्यूनीकरण गर्न मद्दत गर्छ । वित्तीय जग–आधार मजबुत गर्न आवश्यक यी ४ चरणलाई मनन गर्नुका साथै व्यवहारमा पनि उतार्न अति आवश्यक छ । कहिलेकाहीँ सामान्य रणनीति अपनाउँदा पनि मनले शान्ति पाउँछ र भविष्य सुरक्षित गर्न पनि सहयोग पुर्याउँछ । यो लेखबाट आमपाठकलाई अहिलेदेखि नै आफ्नो वित्तीय जगको नक्सा कोर्न प्रोत्साहन गर्न खोजिएको हो । नक्सा कोरिसकेपछि नियमितरुपमा एउटा इँट्टा थप्दै अघि बढेमा अवश्य पनि वित्तीय स्वतन्त्रताको फल चाख्न पाइनेछ ।
 
  (लेखक त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायमा फाइनान्स विषयको एम.फिल. का स्वर्णपदक विजेता हुन् । हाल उनी अमेरिकाको एक परामर्शदाता कम्पनीमा सहायक प्रबन्धकको रुपमा काम गर्दैछन् ।) 

नबिल बैंकले दिने भयो ३०% बोनस सेयरसँगै १८% नगद लाभांश


काठमाडौं : नबिल बैंकले ३०% बोनस सेयर र १८% नगद लाभांश दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले बोनस र नगद लाभांश दिने निर्णय गरेको छ । सञ्चालक समितिको निर्णयलाई आगामी वार्षिक साधारण सभा र राष्ट्र बैंकले अनुमोदन गरेपछिमात्र सेयरधनीले लाभां पाउनेछन् । नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ६२ करोड ८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ६ अर्ब १८ करोड ५५ लाख रुपैयाँ छ । नबिलको प्रतिसेयर आम्दानी (वार्षिक) ५८ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ २४६ रुपैयाँ छ ।

तरलता संकट हुनबाट धन्न जोगियो, ८० अर्ब बैकिङ प्रणालीमै


काठमाडौं : विकास बैंक तथा फाइनान्स कम्पनीको वाणिज्य बैंकमा राखेको झण्डै ८० अर्ब निक्षेप अब बैंकिङ प्रणाली भित्रै रहने भएको छ  । गत बिहीबार केन्द्रीय बैंकले घुमाउरो पारामा अन्तर बैंक निक्षेपलाई सीसीडी रेसियोमा (कर्जा पुँजी निक्षेप अनुपात) गणना गर्न पाइने भनेपछि वाणिज्य बैंकहरुले नै ती पैसा फेरि निक्षेपका रुपमा राख्न पाउने भएका हुन् । यता, वाणिज्य बैंकहरुलाई पनि यो व्यवस्थाले सीसीडी व्यवस्थापन गर्न सहज भएको छ भने विकास बैंक र फाइनान्स कम्पनीको पनि अन्तर बैंक निक्षेपबाट हुने ब्याज आम्दानी नघट्ने भएको छ । यसअघि नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका मार्फत अन्तर बैंक निक्षेपलाई सीसीडी रेसियोमा गणना गर्न पाइदैन भनेपछि  केही बैंकरहरु आत्तिदैँ नयाँ व्यवस्थामा पुनरावलोकन गर्नुपर्ने भन्दै केन्द्रीय बैंकको ढोका ढकढकाउन पुगे । र, अन्ततः एक साता पनि बित्न नपाउँदै राष्ट्र बैंक आफ्नो निर्णयबाट पछि हटेर बैंकरहरुको मागको सुनुवाइ गर्यो । यसबाट विकास बैंक र फाइनान्स कम्पनीले पैसा यथावत राखेर अन्तर बैंक निक्षेप ब्याज आम्दानी पनि गर्न सक्ने भए । अब तत्काल वाणिज्य बैंकलाई सीसीडी व्यवस्थापन गर्न असहज भएन ।

तरलता संकट हुनबाट जोगिएको छ : अध्यक्ष ढकाल

डेभलपमेन्ट बैकर्स एसोसिएसनका अध्यक्ष भरतराज ढकालले राष्ट्र बैंकले गरेको नयाँ संशोधनले अन्तर बैंक निक्षेपलाई सीसीडीमा गणना गर्न पाउने व्यवस्था गरेर दुर्घटना हुनबाट जोगाएको बताएका छन् । बिहीबारको नयाँ व्यवस्था बैंकहरुकै पक्षमा भएको उनले बताए । उनले भने, ‘राष्ट्र बैंक पहिलाको निर्देशनबाट ब्याक नभएको भए  हामीले वाणिज्य बैंकमा रहेको निक्षेप झिकेर राष्ट्र बैंकमा राख्नुपथ्र्यो । जुन एक हिसाबले बैंकिङ प्रणालीभन्दा बाहिर रहन्थ्यो । यसले बैंकहरुसँग कर्जा लगानी गर्ने पैसाको अभाव हुन्थ्यो । बैंकहरुले निक्षेप तान्न झन—झन ब्याजदर बढाउन थाल्थे । तर बिहीबारको व्यवस्थाले तरलता संकट हुनबाट जोगाएको छ ।’ अन्तर बैंक निक्षेपलाई सीसीडी (कर्जा पुँजी जिक्षेप अनुपात) रेसियोमा गणना गर्न नपाउँदा विकास बैंक र फाइनान्स कम्पनीले वाणिज्य बैंकमा राखेको झण्डै ८० अर्ब रुपैयाँ झिक्न सक्ने भन्दै वाणिज्य बैंकहरु प्नि डराएका थिए । वाणिज्य बैंकका एक अधिकारीले केन्द्रीय बैंकले तत्काल निर्देशन परिमार्जन नगरे  सीसीडीलाई पुषसम्म ८५ प्रतिशत कायम गर्नुपर्ने बताएका थिए । 

तत्काल सरकात्मक प्रभाव तर दीर्घकालमा बजेट खर्चमै निर्भर : डेपुडी सिइओ ज्ञवाली

यता, ज्योति विकास बैंकका डेपुटी प्रमुख  कार्यकारी अधिकृत मनोज ज्ञवाली राष्ट्र बैंकले नक्कली निक्षेप जम्मा गर्न नपाउने व्यवस्था यथावत राख्दै अन्तर बैंक निक्षेपलाई मात्र परिभाषित गरेको बताउँछन् । यसले वाणिज्य बैंकहरुलाई सीसीडी व्यवस्थापन गर्न सजिलो हुने र लगानीयोग्य रकमको तत्काल अभाव पनि नहुने उनको भनाई छ । यद्दपि, संशोधित निर्देशनको तत्काल सकारात्मक असर देखिए पनि दीर्घकालमा भने सरकारको बजेट खर्च गर्ने प्रणालीमै तरलताको अवस्था निर्भर रहने उनले बताए ।  
 
अडिग हुन सकेन राष्ट्र बैंक
 
 नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशन एकपछि अर्को गर्दैै धमाधम उल्ट्याउन थालेको छ । बैंक तथा वित्तीय संस्थाको नियामक केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकपछि अर्को निर्देशन दिए पनि दूरगामी प्रभावको अध्ययन नगरी फेरि तत्कालै परिमार्जन गरिहाल्ने प्रवृत्ति देखिएको छ । बिहीबारमात्रै एकीकृत निर्देशिकामा उल्लेख भएको अन्तर बैंक निक्षेपलाई स्रोतको रुपमा परिचालन गर्न पाइदैंन भन्ने बुँदामा थप स्पष्टीकरण पार्दै अर्को परिपत्र जारी गर्यो । फेरि, अन्तर बैंक निक्षेपलाई सीसीडीमा गणना गर्न सकिने बनायो । यस्तै, बैंकमा १ रुपैयाँ जम्मा गरे पनि परिचयपत्र देखाउनुपर्ने व्यवस्थालाई संसोधन गर्दै १ लाख भन्दा बढी रुपैयाँ जम्मा गर्दा मात्र परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्यो । राष्ट्र बैंकले दूरगामी प्रभावको अध्ययन नगरी नीतिनियम बनाउँदा थोरै समससम्म पनि आफ्नो निर्णयमा टिक्न नसकेको कतिपयले टिप्पणी गर्न थालेका छन् । 

 

सिन्धु विकास बैंकको ८०% हकप्रद भर्न सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं : सिन्धु विकास बैंकको ८०% हकप्रद सेयर सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन हो । भदौं ८ गतेसम्म कायम सेयरधनीले मात्र सिन्धुको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । सिन्धुले शुक्रबार (भदौ ९) देखि बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले हकप्रद भर्न पाउनेछन् । पुराना सेयरधनीले भने स्वतः हकप्रद भर्न पाउनेछन् । सिन्धु विकास बैंकले भदौ १८ गतेदेखि ८०% हकप्रद सेयर बिक्री खुला हुँदैछ । यसआधारमा सिन्धुले १०ः८ अनुपातमा (प्रत्येक १० कित्ता सेयर थप ८ कित्ता) सेयर बिक्री गर्न लागेको हो । बैंकले १०० रुपैयाँ अंकित मूल्यको २० लाख ९७ हजार ५४० कित्ता सेयर बिक्री खुला गर्नेछ । असोज २२ गतेसम्म हकप्रद भर्न पाइनेछ । यसमा एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी, सिन्धु बिकास बैंकको मुख्य कार्यालय बाह्रबिसे सिन्धुपाल्चोक र यसका अधिकांस शाखा कार्यालय तथा नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरु चिप्लेढुंगा पोखरा, विराटनगर, वीरगञ्ज, नारायणगढ, बुटवल, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । सिन्धुको यस हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल मार्केट्सले गर्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सिन्धुको चुक्ता पुँजी २६ करोड २१ लाख ९२ हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि बैंकको चुक्ता पुँजी ४७ करोड १९ लाख ४६ हजार ५०० रुपैयाँ हुनेछ । चौथोे त्रैमासमा बैंकले ३ करोड ७२ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २० पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ६८ पैसा रहेको छ । 
 
 

समिट माइक्रोफाइनान्सको पनि १००% हकप्रद सुरक्षित गर्ने आजै अन्तिम मौका

काठमाडौं : समिट माइक्रोफाइनान्सको १००% हकप्रद सेयर सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन हो । भदौं ८ गतेसम्म कायम सेयरधनीले यस कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । समिटले शुक्रबार (भदौ ९) देखि बुक क्लोज गर्दैछ । धितोपत्र बोर्डबाट समिट माइक्रोफाइनान्सले १ः१ अनुपातामा १०० रुपैयाँ दरको ७ लाख २५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति पाइसकेको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्दैछ । १००% हकप्रदपछि कम्पनीको चुक्ता पुँजी दोब्बर हुनेछ । हाल समिटको चुक्ता पुँजी ७ करोड २५ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ५ करोड ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । समिटको प्रतिसेयर आम्दानी ६९ रुपैयाँ १० पैसा र प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ३९ पैसा छ । 
 
 

ब्रोकर कम्पनी लिन्च स्टक मार्केटलाई नयाँ डिम्याट खाता खोल्न प्रतिबन्ध

नेपाल धितोपत्र बोर्डले ब्रोकर नं ४१ लिन्च स्टक मार्केट लिमिटेडलाई नयाँ हितग्राही (डिम्याट) खाता खोल्न प्रतिबन्ध लगाएको छ । बोर्डले स्थलगत निरिक्षण गर्दा कैफियत भेटिएपछि नयाँ खाता खोल्न रोक लगाएको हो ।



लिन्चले लगानीकर्ताको डिम्याट खाता खोल्दा स्पष्ट रुपमा पहिचान नराखेको पाईएपछि सिडिएसी मार्फत नयाँ खाता खोल्न रोक लगाईएको बोर्ड स्रोतले जनाएको छ ।

नयाँ बानेश्वरमा कार्यालय रहेको लिन्च स्टक मार्केटले धितोपत्र बोर्डबाट अनुमति लिएर डिपी सेवा उपलब्ध गराउदै आएको छ ।

सरकारीमा नेपाल बैंकको प्रतिफल उच्च,निजी बैंकहरूमध्ये नबिल सबैभन्दा अगाडि

गत आर्थिक बर्षमा २८ वटा वाणिज्य बैंकहरूमध्ये सेयर प्रतिफल सरकारी बैंकको उच्च देखिएको छ । कुल तीन सरकारी लगानीका बैंकमध्ये दुई बैंकको प्रतिफल उच्च देखिएको छ। नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक पछाडि नबिल बैंकको सेयर प्रतिफल क्रमश: सबैभन्दा उच्च देखिएको छ ।

गत आर्थिक वर्षको  वित्तीय विवरणका आधारमा यी बैंकहरूमा सेयरधनीको लगानीमा प्रतिफल (आरओई) सबैभन्दा राम्रो देखिएको हो । लगानीमा प्रतिफल अर्थात आरओईले कुनै पनि बैंकमा एक सय रुपैयाँ लगानी गर्दा त्यसले कमाउने आम्दानीलाई जनाउँछ ।

गत बर्षको वित्तीय विवरणअनुसार नेपाल बैंकको आरओई सबैभन्दा धेरै ४५ दशमलव ५२ प्रतिशत छ । यसको अर्थ नेपाल बैंकमा लगानी भएको सय रुपैयाँले साढे ४५ रुपैयाँ आम्दानी गर्छ भन्ने बुझिन्छ । यो अनुपात अन्य वाणिज्य बैंकहरूको तुलनामा सबैभन्दा उच्च हो । नेपाल बैंकले गत आर्थिक बर्षमा तीन अर्ब २१ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।


नोट:रकमलाई हजारमा देखाइएको छ । 

यद्यपि नेपाल बैंक सरकारी स्वामीत्वको  रहेकाले यसमा राष्ट्र बैंकबाट प्राप्त सुविधा र छुटको कारण आरओई वृद्धिमा सहयोग पुगेको हो । कुनै पनि बैंकले उच्च कार्य क्षमता कायम हुँदा राम्रो प्रतिफल प्राप्त गर्ने गरेको पाइन्छ ।

यस्तै आरओईका आधारमा राष्ट्रिय वाणिज्य बैंक दोस्रो नम्बरमा छ । यो बैंकको आरओई ३४ दशमलव ३९ प्रतिशत छ । गत बर्ष यो बैंकको खुद मुनाफा तीन अर्ब आठ करोड २६ लाख रुपैयाँ छ । उक्त अवधिमा यो बैंकको पूँजी पर्याप्तता अनुपात ११ दशमलव ८३ प्रतिशत छ । सरकारी स्वामित्वको बैंक भएर पनि कृषि विकास बैंकले सेयरधनीलाई राम्रो प्रतिफल दिन सकेको छैन ।

गत आर्थिक बर्षमा यो बैंकको आरओई १४ दशमलव ६३ प्रतिशत कायम भएको छ । जुन २८ बाणिज्य बैंकमध्ये सिभिल र सेञ्चुरी बैंकभन्दा मात्र राम्रो हो । कृषि विकास बैंक २८ वटा वाणिज्य बैंकहरूमध्ये आरओई अनुपातका आधारमा २६ नम्बरमा पर्छ । सोही अवधिमा यो बैंकको पूँजी पर्याप्तता अनुपात १७ दशलमव ४७ प्रतिशत छ ।

निजी बैंकहरूमध्ये नबिल बैंक सबैभन्दा अगाडि र समग्र २८ बैंकमध्ये तेस्रो नम्बरमा रहेको छ । नबिल बैंकको आरओई ३१ दशमलव २३ प्रतिशत छ भने खुद मुनाफाका आधारमा पनि यो बैंक सबैभन्दा अगाडि रहेको छ । गत आर्थिक वषमा बैंकले तीन अर्ब ६२ करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । हाल यो बैंकका पुँजी पर्याप्तता अनुपात १३ दशमलव ३४ प्रतिशत छ ।

प्रतिफलका आधारमा चौथो र पाँचौं नम्बरमा प्रभु र नेपाल क्रेडिट एण्ड कर्मस बैंक छन् । यी बैंकको आरओई क्रमश २८ दशमलव १३ प्रतिशत र २५ दशमलव ०१ प्रतिशत छ । यस अवधिमा प्रभु बैंकको पुँजी पर्याप्तता अनुपात ११ दशमलव ०५ प्रतिशत र एनसीसी बैंकको १३ दशमलव ३० प्रतिशत छ ।गत बर्षमा हिमालयन, ग्लोबल आईएमई, एभरेष्ट, प्राइम कर्मर्सियल बैंक, सानीमा, नेपाल एसबीआई, माछापुच्छ्रे, र सिद्धार्थ बैंकको आरओई २० प्रतिशतभन्दा धेरै छ । यसरी २० प्रतिशतभन्दा बढी आरओई हुने वाणिज्य बैंकको संख्या १३ वटा रहेको छ ।

यस्तै जनता बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनआईसी एसिया, नेपाल बंगलादेश बैंक, सनराइज, सिटिजन्स् , स्ट्यान्डर्ड चार्टर्ड, एनएमबि, मेगा र लक्ष्मी बैंकको गरी १० बाणिज्य बैंकको आरओईको अनुपात १५ प्रतिशत भन्दा धेरै र २० प्रतिशतभन्दा कम रहेको छ ।

बाँकी रहेका पाँच बाणिज्य बैंकहरुको आरओई १५ प्रतिशतभन्दा कम रहेको छ । जसमध्ये बैंक अफ काडमान्डूको ११ दशमलव ८३ प्रतिशत, कुमारीको १४ दशमलव ८१ प्रतिशत, कृषि विकास बैंकको १४ दशमलव ६३ प्रतिशत, सेञ्चुरी बैंकको ११दशमलव ६५ प्रतिशत र सबैभन्दा कम प्रतिफल प्राप्त गर्ने बैंक सिभिल बैंक बनेको छ । सिभिलको सबैभन्दा कम ११ दशमलव ४० प्रतिशत आरओई रहेको छ ।

पछिल्लाे वर्षमा बैंकहरूको आरओई अझै घटेकाे हाे । राष्ट्र बैंकको तोकेको न्यूनतम आठ अर्ब पूँजी वृद्धि गर्नुपर्दा बैंकको पूँजी बढेको अनुपातमा कर्जा प्रवाह तथा अन्य आम्दानीको वृद्धिदर कायम गर्न नसक्दा बैंकको लगानीमा प्रतिफल वृद्धिद्धर खस्किएको हो ।

नोट : माथि प्रस्तुत गरिएको तथ्यांक सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले उपलब्ध गराएको विवरणबाट लिईएको हो । 

महुली सामुदायिक लघुवित्तको कारोबार सुरु, कति पायो ओपन रेन्ज ?


काठमाडौं : महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सोमबार (आज) देखि सुरु भएको छ । नेप्सेले महुलीको पहिलो कारोबारका लागि ५४२ देखि १ हजार ६२६ रुपैयाँ ओपन रेन्ज दिएको छ । यसआधारमा, सोमबार महुलीको पहिलो कारोबार ५४२ देखि १ हजार ६२६ रुपैयाँको बिचमा हुनेछ भने यसमा १०% तलमाथि भएर दिनभर कारोबार सञ्चालन हुन पाउनेछ । महुलीले कारोबारका लागि ‘एमएसएलबी’ संकेत पाएको छ । महुलीले वैशाख ७ देखि ११ गतेसम्म १ लाख २० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । यसमा गोलाप्रथाबाट १० हजार ९२० जनाले १० कित्ताको दरले सेयर पाएका थिए । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ४ करोड ३१ लख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । महुलीको प्रतिसेयर आम्दानी १०७ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ ४४६ रुपैयाँ १५ पैसा छ ।