लाइफ इन्स्योरेन्स कर्पोरेशनले गत आर्थिक वर्षमा गरेको प्रगति,वित्तीय विबरणमा नदेखिँदा साधारण लगानीकर्तामा अन्यौल देखिएको छ । एलआईसीको गत आर्थिक वर्षको वित्तीय विबरणमा परिष्कृत र अपरिष्कृत विबरण उल्लेख गरिएको छ । जहाँ बिमाङ्कीय मुल्याङ्कन पनि समेटिएको छैन ।
जीवन बीमा कम्पनीको अपरिष्कृत वित्तीय विबरणमा उल्लेखित खुद नाफा वास्तविक नहुने भएकाले पनि वित्तीय विबरण हेर्ने सामान्य लगानीकर्ता झुक्किने गरेका छन् ।
यहाँ एलआईसी अघिल्लो आर्थिक वर्षको अपरिष्कृत वित्तीय विबरणसँग गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विबरण दाँजेर देखाउन खोजिएको छ ।
गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विबरण अनुसार एलआईसीले ११ करोड ६७ लाख ४७ हजार रुपैंया खुद नाफा कमाएको छ । सोही वित्तीय विबरणमा उल्लेखित अघिल्लो आर्थिक वर्षको परिष्कृत विबरण अनुसार इन्स्योरेन्सको खुद नाफा ३२ करोड १४ लाख ३५ हजार रुपैंया खुद नाफा कमाएको देखाइएको छ । तर अघिल्लो आर्थिक वर्षको अपरिष्कृत वित्तीय विबरण हेर्ने हो भने इन्स्योरेन्सले जम्मा चार करोड ९३ लाख ५५ हजार रुपैंया मात्र खुद नाफा कमाएको देखिन्छ ।
यहाँ प्रष्ट पार्न खोजिएको विषय अघिल्लो आर्थिक वर्षको अपरिष्कृत वित्तीय विबरणमा चार करोड ९३ लाख रुपैंया रहेको खुद नाफा परिष्कृत हुँदा ३२ करोड पुगेको हो । अब चार करोड रुपैंयाको खुद नाफा गत आर्थिक वर्षमा ११ करोड पुग्दा परिष्कृत वित्तीय बिवरणमा मात्र कम्पनीको वास्तविक खुद नाफा देखिने छ । अपरिष्कृतबाट परिष्कृतमा रुपान्तरण हुँदाको वृद्धि प्रतिशतको आधार अनुसार हेर्ने नमिल्ने भएकाले एलआईसीको वास्तविक खुद नाफा यति हुन्छ भन्न सकिन्न । तर अपरिष्कृत वित्तीय विबरणका आधारमा मात्र खुद नाफाको वृद्धि प्रतिशत हेर्दा १३६.५४ प्रतिशत हुन आउँछ । इन्स्योरेन्सले गत आर्थिक वर्षमा छ अर्ब ९५ करोड ७५ लाख ११ हजार रुपैंयाको खुद बीमाशुल्क आर्जन गरेको छ । उसले ७१ करोड चार लाख ६४ हजार रुपैंयाको मात्र खुद बीमा दाबी भुक्तानी गरेको छ । उसले सात हजार चार सय ५५ वटा बीमा दाबी भुक्तानी गरेकोमा एक करोड ६८ लाख रुपैंयाको बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको वित्तीय विबरणमा उल्लेख छ ।
खुद नाफा वास्तविक हुन नसकेका कारण वित्तीय बिवरणमा उल्लेख गरिएको प्रतिसेयर आम्दानी तथा मूल्य आम्दानी अनुपात लगायतका सूचक पनि वास्तविक हुन सक्दैनन् । जसका कारण उसको प्रतिसेयर आम्दानी आठ रुपैंया ७५ पैसा मात्र रहेको देखाइएको छ । अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी पाँच रुपैंया ७७ पैसा मात्र रहेको देखाइएको थियो ।
यस आधारमा पनि इन्स्योरेन्सको कमाई धेरै बढेको देखिन्छ । किनकी समीक्षा अवधिमा उसको चुक्ता पूँजी एक अर्ब छ करोड ९४ लाख ५३ हजार रुपैंयाबाट बढेर एक अर्ब ३३ करोड ४६ लाख ७७ हजार रुपैंया पुगेको छ । पूँजी बढ्दा पनि प्रतिसेयर आम्दानी बढ्नुले कमाई फराकिलो अंकले बढेको बुझ्न सकिन्छ । उसको जगेडा कोषमा २६ करोड पाँच लाख एक हजार रुपैंया सञ्चित रहेको देखाइएको छ । खुद नाफा वास्तविक नभएकाले परिष्कृत विबरणमा जगेडा कोषको आकार पनि फराकिलो अन्तरले बढ्ने देखिन्छ ।
0 comments:
Post a Comment