दुई लाख बढी सेयरधनी रहेको कृषि बिकास बैंकले जोखिम घटाएर आफुलाई बनाउँदै छ झन् सबल

केही बर्ष अघिसम्म रुग्ण अबस्थामा रहेको कृषि बिकास बैंक(ADBL)ले पछिल्ला बर्षहरुमा आफुलाई सुधारी सबल बाणिज्य बैंकको रुपमा उभ्याएको छ । उसको गत आर्थिक बर्षको चौथौ त्रैमासिक बित्तीय बिबरणको विश्लेषण गर्दा प्रायः सबै सूचकहरुमा सुधार गरी निजी क्षेत्रका ठूला बाणिज्य बैंकहरुकै दाँजोमा उभिन सफल भएको देखिन्छ ।

निक्षेप संकलन र कर्जा परिचालन बढ्नु, निस्क्रिय कर्जा अनुपातमा सुधार हुनु, खुद नाफा बढ्नु, पूँजी तथा जगेडा कोषमा उल्लेखनीय बढोत्तरी हुनु उसका निकै आशलाग्दा पक्षहरु हुन् । बिदेशी मुद्राको कारोबार र अन्य संचालन आम्दानी भने घटेको छ ।

कृषि बिकास बैंकको खुद नाफा मेरोलगानीले आँकलन गरे भन्दा उल्लेखनीय रुपमा कम हो ।

गत बर्ष ५० प्रतिशत हकप्रद र २० प्रतिशत बोनस बाँडेर चुक्ता पूँजी बढाएको बैंकले प्रतिसेयर आम्दानीमा सन्तुलन राख्न भने सकेन । हकप्रदमा नबिकेको सेयर लिलाम गर्दा आएको ५३ करोडको समेत हिसाब गर्ने हो भने तीन अर्ब ३० करोड आम्दानी थपिएको छ तर सेयर बिक्रीको रकमलाई खुद नाफामा देखाउँन मिल्ने अबस्था हैन ।

उसले झापा धुलाबारीको गैर बैंकिड. सम्पति बिक्रीबाट प्राप्त भएको ४७ करोड रुपैयालाई गैरसंचालन आम्दानीमा देखाएको छ ।

बैंक सवल र सक्षम बन्दै गए पनि कर्मचारी खर्च धेरै हुनु र गत बर्ष मात्रै यो खर्च ६३ प्रतिशतले बढ्नु चिन्ताको बिषय हो । पुराना र कामचोर कर्मचारीलाई बिदा गरी प्रबिधि र बैंकिड. शीप जानेका नयाँलाई भर्ना गरी काममा लगाउँदा कर्मचारी खर्च बढ्नु स्वभाविक भए पनि कर्मचारी खर्चमा तीन अर्ब १७ करोड खर्चिनु परेको छ । संचालन खर्च समेत जोड्दा कुल संचालन आम्दानीको ९७ प्रतिशत खर्च हुन गएको छ । बाणिज्य बैंकहरु मध्येमा सबैभन्दा धेरै २३० शाखा संजाल भएको बैंकको खर्च धेरै भयो भन्नु धेरै आपत्तिको बिषय नभए पनि त्यसमा सख्त नियन्त्रणको आबश्यकता भने छ ।

गत बर्ष तरलतामा देखिएको समस्याले बचतको ब्याज दर बढाउनु परेकाले कोषको लागत पनि बढेर गएको देखिएको छ । यस कारण ब्याज खर्च पनि बढाउनु पर्यो ।

सरकारको अग्राधिकार सेयर समेतको हिसाब गर्दा चुक्ता पूँजी १२ अर्ब देखिन्छ तर वास्तविक रुपमा सात करोड मात्रै साधारण पुँजी हो । सरकारको अग्राधिकार सेयरलाई छ प्रतिशत नगद लाभांश ब्यवस्थापन गर्नुपर्ने छ । त्यस बाहेक साधारण सेयरधनीलाई २० प्रतिशत बोनस दिने यसअघि नै बैंकले घोषणा गरिसकेको हुँदा साधारण लगानीकर्ताले ढुक्कले लाभांश पाउने छन् । त्यसो गर्दा साधारण चुक्ता पूँजी आठ अर्ब सजिलै नाघेर राष्ट्रबैंकले तोकेको सिमा पार हुनेछ ।

कृषि बिकास बैंकका साधारण सेयरधनी मात्रै दुई लाख भन्दा बढी छन् । पहिले गाउँ गाउँमा ऋणीलाई सेयर बाँडिएको र दोस्रो बजारमार्फत सेयर किन्नेहरु बढेकाले सेयरधनीहरु धेरै भएका हुन् । वास्तवमा यसलाई जनताको बैंक भने पनि हुन्छ ।

प्रबिधि तथा बैंकिड. शीप जानेका नयाँ जनशक्ति भर्ना गरेर कृषि बिकास बैंक आधुनिकीकरणको चरणमा प्रबेश गरेको र कर्जा परिचालन र असुलीमा बिशेष सतर्कता अपनाउन थालेकाले अब बिगतमा जस्तो यो बैंक समस्यामा पर्दैन भन्ने बिस्वास गर्नुे आधारहरु धेरै छन् । त्यसमा प्रमुख कार्यकारी लिलाप्रकाश सिटौलाको प्रतिबद्धता र कृयाशीलताले ठूलो भुमिका खेलेको छ ।

कृषि बिकास बैंकको कर्जा पूँजी निक्षेप अनुपात ६२ मात्र रहेकाले उसले यस बर्ष अरु लगानी बढाउँनसक्छ ।

उसको प्रतिसेयर नेटवर्थ २३४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३ गुणा रहेको छ । यसले उसको सेयरमा लगानी गर्नु उपयुक्त हुने देखाउँछ ।

गाउँ गाउँमा फैलिएर जनतामा भिजेको बैंक हुनाले अब कारोबारको दायरालाई बढाउन उसले मर्चेन्ट बैंकिड., सामुहिक लगानी कोष, बीमाजस्ता कृयाकलापमा पनि आफुलाई संलग्न गराउने तिर सोच्नु आबश्यक छ ।

0 comments:

Post a Comment