नेपाल बैंकको खुद ब्याज आम्दानी सबैभन्दा धेरै, खुद नाफा पनि ३ अर्ब कट्यो


काठमाडौं : नेपाल बैंकले आर्थिक वर्ष २०७३।७४ को चौथो त्रैमासमा ११.६७% ले खुद नाफा वृद्धि गरी ३ अर्ब २१ करोड ९५ लाख ६० हजार रुपैयाँ पुयाएको छ । नबिल, इन्भेस्टमेन्टसहित खुद नाफा ३ अर्ब रुपैयाँ कटाउनेको सूचीमा नेपाल बैंक पनि दर्ज भएको छ । चौथो त्रैमासिक प्रतिवेदनका आधारमा सरकारी स्वामित्वको यो बैंक एक सशक्त संस्थाको रुपमा स्थापित भएको प्रस्ट भएको छ । यतिमात्र होइन, नेपाल बैंक चौथो त्रैमासको रिपोर्ट सार्वजनिक गरेका वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै खुद ब्याज आम्दानी गर्ने बैंक पनि बनेको छ । नेपाल बैंकको खुद ब्याज आम्दानी मात्रै ५ अर्ब ८३ करोड ३९ लाख २ हजार रुपैयाँ छ । यो आम्दानी यसअघि रिपोर्ट सार्वजनिक गरिसकेको नबिल बैंक र सोमबारै रिपोर्ट प्रस्तुत गर्ने इन्भेष्टमेन्ट बैंकको भन्दा पनि धेरै हो । नबिलले ५ अर्ब ४५ करोड खुद ब्याज आम्दानी गरेको थियो भने इन्भेष्टमेन्टको ४ अर्ब ७८ करोड छ । नेपाल बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको भन्दा २६.६८% धेरै हो । बैंकले २५ करोड १३ लाख ५७ हजार राइट ब्याक गरेको छ भने सम्भावित जोखिमका लागि ५२ करोड २ लाख ६५ हजार रुपैयाँ छुट्याएको छ ।

नेपाल बैंकले ९३ अर्ब ९४ करोड ४० लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब ३७ करोड २८ लाख ३८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७०.७९% छ । बैंकको खराब कर्जा भने ३.११% बाट थोरै बढेर यसपालि ३.१७% पुगेको छ । अरु वाणिज्य बैंकहरुको कस्ट अफ फन्ड बढ्दो क्रममा रहेको अवस्थामा नेपाल बैंकको कस्ट अफ फन्ड भने अत्यन्तै न्यून देखिन्छ । बैंकले अघिल्लो वर्ष १.९८% रहेको कस्ट अफ फन्डमा थोरै भए पनि सुधार भएर यसपालि १.९७% छ । बैंकको इक्टिीमा प्रतिफल भने ह्वात्तै घटेको छ । अलिल्लो वर्ष ५६.५३% रहेको इक्विटीमा प्रतिफल ३५.२५% मा झरेको छ । बैंकले चुक्ता पुँजी २४.४०% वृद्धि गरी ८ अर्ब २ करोड रुपैयाँ भन्दा बढी बनाएको छ । बैंकको रिजर्भ कोषमा भने ३ अर्ब ५१ करोड ७ लाख ५८ हजार रुपैयाँ मात्र छ । बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ३ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ६५ पैसा छ ।

0 comments:

Post a Comment