हकप्रदमा पनि हुँदैछ आस्वाको खोजी, पुगेन आइपीओले मात्र

काठमाडौं : चालु आर्थिक वर्षदेखि सार्वजनिक निष्कासन (आइपीओ,एफपीओ) मा आस्वा अनिवार्य भइसके पनि हकप्रद भर्न भने अझै लाइनमा बस्नुपर्ने अवस्था छ । खाता भएको बैंकमा गएर हकप्रद भर्ने सुविधा अझै प्राप्त हुन सकेको छैन । आइपीओ र एफपीओमा आस्वाको स्वाद लिएका लगानीकर्तालाई हकप्रद भर्न भने पुरानै विधिमा जानुपर्दा असहज पनि भइरहेको छ । धितोपत्र बोर्डले अहिलेसम्म हकप्रद भर्न आस्वा प्रणाली अनिवार्य गरेको छैन । आइपीओमा गत माघदेखि ऐच्छिक रुपमा लागू गरिंदै आएको आस्वा प्रणाली साउन १ गतेदेखि अनिवार्य भएको हो । सार्वजनिक निष्कासनमा आस्वा अनिवार्य भएसँगै अब हकप्रदमा पनि आस्वा लागू गर्नुपर्ने आवाज उठ्न थालेको छ । पछिल्लो समय बैंक तथा बिमा कम्पनीहरुको पुँजी वृद्धि निर्णय कार्यान्वयन गर्न पनि हकप्रद जारी गर्नेक्रम ह्वात्तै बढेको छ । जसका कारण हकप्रद भर्न दिनहुँजसो कम्पनीहरुमा लगानीकर्ताको भीड लाग्ने गरेको छ । यो क्रम चालु आर्थिक वर्षमा पनि कायम रहने देखिन्छ ।

पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले भने हकप्रदमा आस्वा कार्यान्वयन गर्नेबारेमा अहिलेसम्म खासै तयारी गरिसकेको छैन । धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरे हकप्रदमा आस्वा प्रणाली तत्काल कार्यान्वयन गर्ने वा नगर्ने भन्नेमा  ठोस धारणा बनिनसकेको बताउँछन् । ‘बोर्डले हकप्रदमा पनि आस्वा लागू गर्नुपर्ने आवश्यकता महसुस गरेको हो तर तत्काल लागू गर्ने वा नगर्ने अनि गर्ने भए कहिलेबाट भन्ने विषय चाहिँ छलफलकै चरणमा छ । यस विषयमा छलफल गरेर छिट्टै एउटा निर्णयमा पुग्नेछौं’ उनले भने । तर, यता सेयर बजारमा लगानी गर्नेहरुको संख्या प्रतिदिन बढ्दो छ । नयाँ कम्पनीहरुले बजारमा आइपीओ जारी गरिरहेका छन् । अहिले आइपीओ ल्याएका कम्पनीहरुले फेरि पुँजी बढाउन हकप्रद जारी गर्छन् ।

आइपीओ आस्वाबाट भरेका तिनै लगानीकर्ता फेरि सोही कम्पनीको हकप्रद भर्दा भने परम्परागत प्रणालीमै जानुपर्ने बाध्यता देखिएको छ । यसकारण यो प्रणाली त्यति व्यवहारिक र वैज्ञानिक पनि देखिएको छैन । धितोपत्र बोर्डले तत्काल हकप्रदमा पनि आस्वा लागू गरेमा लगानीकर्तालाई ठूलो राहत पुग्न सक्छ । हकप्रदमा पनि लागू हुन सकेमा मात्र आस्वा पूर्णरुपमा कार्यान्वयन भएको मान्न सकिन्छ । हकप्रदमा आस्वा लागू भयो भने मात्र लगानीकर्ताले आफ्नो बैंक खाता भएका स्थानमा गएर सेयर भर्न पाउँछन् । अहिले जस्तो तोकिएको स्थान र संस्थामै गएर आवेदन बुझाउन हुने झन्झटबाट मुक्ति मिल्नेछ । यस्तो हुन सकेमा लगानीकर्ताले हकप्रद भर्न छुटाउने प्रवृत्तिमा पनि न्यूनीकरण हुन सक्छ ।

0 comments:

Post a Comment