नेपाल एसबीआई बैंकले लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा यसरी दिन थाल्यो फिर्ता


काठमाडौं : नेपाल एसबिआई बैंकले मंगलबारबाट लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिन सुरु गरेको छ । लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेको बैंक खातामा रकम फिर्ता पठाउने बैंकले जानकारी दिएको छ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आवद्ध भएका बैंक तथा वित्तीय संस्थाबाट इन्टरबैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता पठाईने बैंकले सूचनामा उल्लेख गरेको छ । त्यस्तैगरी, नेपाल क्लियरिङ हाउस (एनसीएचएल) इन्टरबैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत रकम जम्मा गर्दा बैंक तथा वित्तीय संस्थाको नियम अनुसार कुनै शुल्क लागेमा त्यो शुल्क आवेदक स्वयंलेनै तिर्नुपर्ने बैंकले जनाएको छ । यता, बैंक खाताको विवरण रुजु हुन नसकेका र आवेदन फारममा उल्लेख गरेको खाता नम्बर गलत भएका सेयरधनीहरुको पैसा भने खातामा जम्मा नहुने बैंकले जनाएको छ । आवेदन फाराममा खाता नम्बर उल्लेख नगरेका आवेदकहरुले भने बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा चेक संकलन गर्नुपर्नेछ । कुनै कारणबस खातामा रकम जम्मा हुन नसकेकाहरुलाई भने बैंकले छिट्टैनै चेकमार्फत रकम फिर्ता गर्ने पनि जनाएको छ ।

एसबीआई बैैंकले साउन ९ गतेदेखि १८ गतेसम्म सर्वसाधारण समूहको ४ लाख ६९ हजार ५२.६० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । यो लिलामी सेयर आइतबार बाँडफाँट गरिएको हो । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन प्रयासरत एसबीआईले जेठ ७ गतेदेखि असार ११ गतेसम्म १ करोड ९९ लाख १९ हजार ४३२.६० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यो समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । एसबीआईको यो लिलामीमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको हो । गत आर्थिक वर्षको चौथो त्रैमासमा एसबीआईको चुक्ता पुँजी ६ अर्ब ९२ करोड ४८ लाख ९३ हजार रुपैयाँ पुगेको छ । यो त्रैमासमा बैंकले १ अर्ब ५२ करोड ३८ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ६८ पैसा रहेको छ । तर खुद नाफालाई सेयर संख्याले हिसाब गर्दा भने बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ मात्र हुन आँउछ ।

0 comments:

Post a Comment