चितवन र धनकुटामा ‘स्क्रव टाईफस’ बाट २ को मृत्यु
श्रावण २३, २०७४ चितवनमा ‘स्क्रब टाइफस’ रोगबाट एक बिरामीको मृत्यु भएको छ । नवलपरासीकी २४ बर्षीया महिलाको नारायणी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रण निरिक्षक रामकुमार केसीले पुष्टि गर्नुभयो । ज्वरो आएपछि गत शनिबार अस्पताल भर्ना गरिएकी महिलाको उपचारका क्रममा हिजो विहान मृत्यु भएको हो । चितवनका बिभिन्न अस्पतालमा साउनयता स्क्रब टाईफसका ७५ जना बिरामी फेला परेको केसीले जानकारी दिनुभयो । यस्तै, धनकुटाको साविकको छिन्ताङ २ की ८ वर्षिया एक बालिकाको पनि स्क्रब टाइफसका कारण मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा तीन दिनअघि ती बालिकाको मृत्यु भएको हो । धनकुटाका अन्य तीन जनामा पनि रोग देखा परेपछि सजकता अपनाउन सर्वसाधारणमा सूचना गरिएको छ । मुसा वा सोही प्रकारको जीवजन्तुमा हुने किर्नाले मानिसलाई टोकेपछि सो रोग लाग्ने चिकित्सकले जनाएका छन् । चिकित्सकका अनुसार यस्ता बिरामीमा टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने लक्षण देखिन्छ । यसैबीच, भरतपुर अस्पतालमा स्क्रव टाइफस र डेंगु परीक्षण गर्ने किटको अभाव छ । जनस्वास्थ्य कार्यलयमार्फत उपलब्ध हुदै आएको किट बिभागले नपठाएकाले बिरामीलाई परिक्षणका लागी निजि अस्पताल पठाउन बाध्य भएको भरतपुर अस्पताल प्रमुख डा. रुद्र मरासिनिले बताउनुभयो ।
0 comments:
Post a Comment