धितोपत्र बोर्डले किन गर्यो एकैपटक ७ ब्रोकर कम्पनीलाई निलम्बन ?



काठमाडौं : नेपाल धितोपत्र बोर्डले सोमबार एकैसाथ ७ वटा ब्रोकर कम्पनीलाई निलम्बन गरेको छ । बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेन्जले  ७ वटै ब्रोकर कम्पनीलाई अर्को व्यवस्था नभएसम्म सेयर कारोबार गर्न नपाउने गरी निलम्बन गरेको हो । बोर्डको कारवाहीमा पर्नेमा अग्रवाल सेक्युरिटिज (ब्रोकर नम्बर ६), आशुतोष ब्रोकरेज एन्ड सेक्युरिटिज प्रालि (८), भृकुटी स्टक ब्रोकिङ कम्पनी (५५), क्रियटिभ सेक्युरिटिज (४०), डाइनामिक मनि म्यानेजर सेक्युरिटिज (४४), श्रीकृष्ण सेक्युरिटिज (२८) तथा साउथ एसियन बुल्स प्रालि (ब्रोकर नम्बर ४३) रहेका छन् । धितोपत्र बोर्डलाई वार्षिक तिर्नुपर्ने ब्रोकर लिने कुल सेवा शुल्कमध्येबाट ०.६% नियमन शुल्क नतिरेकाले यी कम्पनीहरु निलम्बनमा परेका हुन् । धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेका अनुसार धितोपत्र दलाल व्यवसायी नियमावलीमा प्रत्येक ब्रोकर कम्पनीले आर्थिक वर्ष समाप्त भएको १ महिनाभित्र धितोपत्र बोर्डलाई कुल कमिसनमध्येबाट ०.६ प्रतिशत नियमन शुल्क तिर्नुपर्ने प्रावधान पालना नभएकाले निलम्बन गरिएको हो । ‘अब अर्को निर्णय नभएसम्म यी कम्पनीहरुले सेयर कारोबार गर्न पाउनेछैनन्,’ घिमिरेले भने । निलम्बन फुकुवा नभएसम्म लगानीकर्ताले यी ब्रोकर कम्पनीहरुबाट सेयर खरिदबिक्री गर्न पाउनेछैनन् ।


0 comments:

Post a Comment